एनसेलले वीरगञ्जको घण्टाघर (शिव आँखा अस्पताल नजिक) आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ।
ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यले उक्त सेन्टर सञ्चालनमा ल्याएको कम्पनीको भनाइ छ।
एनसेलका चिफ अफ स्टाफ, अपरेशन स्टेफन रोड्रिगेजले एक कार्यक्रमका माझ बिहीबार उक्त नयाँ एनसेल सेन्टरको उद्घाटन गरे। यो सेन्टरबाट ग्राहकहरूले सबै ग्राहक सेवा प्राप्त गर्न सक्छन्।
आफ्नो ब्राण्ड बाचा 'आज, भोलि, सधैं सँगै' तथा थिम हामी तपाईंकै लागि' अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरू समेत लिन सक्छन्।
यसैगरी ग्राहकहरूले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम इसिममा अपग्रेड गर्न, सियुजी नम्बरहरूको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुरू गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका ग्राहक सेवाहरू प्राप्त गर्न सक्छन्।
'सधैं हामीले गर्ने सबै कार्यहरूमा हामी हाम्रा ग्राहकहरूलाई केन्द्र राख्छौं र 'हामी तपाईंकै लागि' थिम अन्तर्गत रही उच्च ग्राहक अनुभव प्रदान गर्दै हाम्रा ग्राहकहरूलाई निरन्तर सेवा प्रदान गर्न पाएकोमा हामी खुसी छौं,' रोड्रिगेजले भने।
'वीरगन्जमा यो नयाँ एनसेल सेन्टरको उद्घाटन तथा सञ्चालनले हाम्रा ग्राहकहरूलाई स्थानीय रूपमा विश्वस्तरीय सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ,' उनले थपे।
नयाँ सेन्टरको उद्घाटनको अवसरमा यस सेन्टरबाट १०० रूपैयाँ र यो भन्दा बढी ब्यालेन्स रिचार्ज गर्ने हरेक ग्राहकलाई एनसेलका विभिन्न उपहार प्रदान पनि गरिएको थियो।
आइतबारदेखि शुक्रबार हप्ताको ६ दिन यस सेन्टरले ग्राहकहरूलाई सेवा प्रदान गर्ने बताइएको छ।
यस अघि एनसेलले माइस्थान वीरगञ्जमा रहेको आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो।
ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको छ।