एनसेलले आफ्नो एप अझै परिस्कृत गरी थप ग्राहकमैत्री बनाएको छ।
यो सँगै ग्राहकले अब विविध जानकारीहरूमा सजिलै पहुँच पाउने भएका छन्। एनसेलले हालै मात्र आफ्नो यो सेल्फ केयर एपको नयाँ भर्सन सञ्चालनमा ल्याएको छ।
ग्राहक अनुभव अभिवृद्धि गर्ने र ग्राहकहरूको डिजिटल यात्रा सहज बनाउन सहयोग पुर्याउने कम्पनीको प्रतिबद्धता बमोजिम नेपाली बजारमा नै उपलब्ध स्थानीय सूचना प्रविधि प्रतिभाहरूमार्फत् एपलाई अपडेट गरिएको कम्पनीको भनाइ छ।
ग्राहकहरूले सहजै गुगल प्ले स्टोर र एप स्टोरबाट एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन्।
मुख्य मेनुमा सहजै पुग्न सकिने लगायतका विषेशताका कारणहरूले गर्दा यो भर्सन प्रयोग गर्न सजिलो छ। ग्राहकहरूले एपको प्रयोग गर्दा व्यक्तिगतरूपमा सेवा प्रदान गरिएको अनुभव लिन सक्छन्।
यसमा थुप्रै नयाँ निःशुल्क र सशुल्क गेमहरूको पनि अनलाइन तथा अफलाइन मजा लिन सकिन्छ। ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न एपको होम पेजलाई परिमार्जन गरिएको छ र प्रयोगकर्ताले आफ्नो इच्छा अनुसार आफ्नो प्रोफाइल बनाएर आफ्नो अकाउन्ट व्यवस्थापन गर्न सक्छन्।
यस भर्सनमा, प्रयोगकर्ताहरूले सजिलैसँग आफ्नो सेवाहरूको प्रयोग कति भएको, लिइएका प्याकहरू, सक्रिय प्याकहरूको अवस्था हेर्न सक्छन् र आफूलाई मनपर्ने प्याकहरूलाई सजिलै आफ्नो पहुँचमा राख्न सक्छन्।
कम्पनीको अनुसार मुख्य मेनुमा पाइने द्रुत पहुँचले ग्राहकहरूलाई प्रायः प्रयोग गरिरहने सुविधाहरूमा सहज रूपमा नेभिगेट गर्न सजिलो बनाउँछ।
त्यसैगरी यस एपमा थप सुधार गरिएको ग्राहक सेवाले ग्राहकका जिज्ञासाहरू सम्बोधन गरिएका तथा आवश्यक सहयोग प्रदान गरिएको सुनिश्चित गर्दछ।
छोटो वा लामो अवधिका लागि रोमिङसहित विदेश भ्रमणमा रहेका ग्राहकहरूका लागि पनि यो एप एकदमै सहयोगी रहेको छ। किनकी एपको माध्यमबाट प्रयोगकर्ताले सजिलै रिचार्ज गर्ने र प्याकहरू किन्ने कार्यहरू गर्दै विदेश भ्रमणका बेला पनि सहज रूपमा सम्पर्कमा रहिरहन सक्छन्।
स्थानीय सूचना प्रविधिका प्रतिभा र एप डेभलपमेन्ट क्षमताको प्रयोग गरेर यो एप अपडेट गरिएकाले यसले ठूलो अर्थ राखेको एनसेलको विश्वास छ। यो स्थानीय नेपाली आइटी प्रतिभाको प्रमाण हो। यो एपले डिजिटल नेपाल भिजनका आकांक्षाहरू हासिल गर्न पनि योगदान पुर्याउँछ।
एनसेल सधैं ग्राहकको अनुभव अभिवृद्धि गर्न र उनीहरूको डिजिटल यात्रालाई सहज बनाउन प्रतिबद्ध रहेको छ। खल्तीसँगको साझेदारीमा दैनिक क्विज बाहेक एनसेलले समान विचार भएका साझेदार र अग्रणी बैंकहरूसँगको सहकार्यमा एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ।
त्यसैगरी, पिआरबिटी सदस्यतालाई सहज बनाइँदैछ र ग्राहकलाई सूचनामा सहज पहुँच प्रदान गर्न एपमा नयाँ तथा लोकप्रिय सामग्री उपलब्ध गराउन आवश्यक कामहरू भइरहेको कम्पनीले बताएको छ।
सजिलै भ्वाइस र डाटा प्याकहरू लिन सकिने, अनलाइन रिचार्ज, मासिक बिल, रिसोर्स ट्याकिङ, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा सुरू गर्ने लगायत अन्य थुप्रै एपका विद्यमान सेवा, सुविधाहरू हुन्।
केही ट्याप गरेको भरमा नै ग्राहकहरूले हालै सञ्चालनमा ल्याइएको कर सहित १५० रूपैयाँमा सुरू हुने डबल मजा प्याक जस्ता सेवाहरू सजिलै सुरू गर्न सक्छन्।