एआई सम्बन्धी काम गर्ने कम्पनी फ्युजमेसिन्स इंकले यस वर्षको एआई फेलोसिपको आवेदन खुला गरेको छ।
कम्पनीले सोमबार नेपालका निम्ति सन् २०२४ को फेलोसिप आवेदन दर्ता खुला गरेको हो।
कम्पनीका अनुसार फेलोसिप कार्यक्रम अन्तर्गत ६ महिनाको बृहत कार्यक्रम सञ्चालन हुनेछ। फेलोसिपमा सहभागीहरूले एआई सीप विकास गर्नेछन्।
'यो फ्ल्यागसिप कार्यक्रमको पाठ्यक्रम अमेरिकी विश्वविद्यालयका प्राध्यापकहरू र एआई उद्योगका विज्ञहरूले तयार गरेका हुन्,' कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'यसबाट उच्च गुणस्तरका एआई र डेटा साइन्स ट्यालेन्ट उत्पादन गर्ने लक्ष्य हो।'
फेलोसिपमार्फत् परिस्कृत एआई र डेटा साइन्सको अनुभव र समस्या समाधानमा काम गर्ने अवसर मिल्नेछ।
यो कार्यक्रम कम्प्युटर प्रोग्रामिङ, म्याथम्याटिक्स (गणित), कम्प्युटर साइन्स र सफ्टवेयर डेभलपमेन्टमा काम गरेका आइटीका विद्यार्थी, व्यावसायिक र उत्सुक व्यक्तिहरूलाई उनीहरूको सिकाइ र अनुभव निखार्न सहयोगी हुने कम्पनीले जनाएको छ।
आवेदकहरूले आवेदन दिएपछि विभिन्न चरणको छनोट प्रक्रियामा सहभागी हुनुपर्नेछ। त्यसबाट छानिएकाले यो कार्यक्रममा सहभागी हुन पूर्ण छात्रवृत्ति पाउनेछन्।
'यो फेलोसिप कार्यक्रममा हरेक वर्ष सहभागीहरूको चासो बढिरहेको छ,' फ्युजमेसिन्सका संस्थापक तथा सिइओ समीर मास्केले भनेका छन्, 'यो वर्ष डेटा साइन्स र एआईमा अझै धेरै तालिम र सीप विकासका अवसरहरू प्रदान गर्ने हाम्रो उद्देश्य हो।'
यो फेलोसिप कार्यक्रम फ्युजमेसिन्सले सन् २०१७ देखि सुरू गरेको हो। हालसम्म १२ देशका ८०० जनाले फेलोसिप पाइसकेका छन्।
फेलोसिप पाएका विद्यार्थीहरू अनलाइनमार्फत् र साप्ताहिक रूपमा प्रत्यक्ष कक्षामा सहभागी हुनेछन्। आवेदन भर्न वा थप बुझ्न चाहनेले फ्युजमेसिन्सको सामाजिक सञ्जाल वा वेबसाइटमा गएर हेर्न सक्ने कम्पनीले जनाएको छ।
सन् २०१३ मा स्थापना भएको फ्युजमेसिन्सले एआई उत्पादनहरू निर्माण तथा बिक्री गर्छ। यसको मुख्य कार्यालय अमेरिकाको न्यूयोर्कमा छ भने काठमाडौंको बानेश्वरमा शाखा छ। क्यानडा, ल्याटिन अमेरिका र एसियाली मुलुकहरूबाट पनि यसले काम गर्दै आएको छ।