दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सेयर खरिद-बिक्री प्रकरणमा आफ्नो स्पष्टीकरण राखेको छ। सेयर खरिद-बिक्री प्रकरणमा सरकारले गठन गरेको छानबिन समितिलाई उसले आफ्नो कारोबार नियमसंगत नै भएको बताएको छ।
एनसेलको सेयर खरिद-बिक्री प्रकरण छानबिन गर्न गठित समितिले सोमबार प्रधानमन्त्रीसमक्ष निष्कर्ष बुझाएको थियो। समितिले एनसेलको सेयर खरिद-बिक्री सम्झौता अस्वाभाविक भएको र थप छानबिन आवश्यक रहेको विज्ञप्तिमार्फत जनाएको थियो।
मंगलबार एनसेलले समितिलाई स्पष्टीकरण दिएको हो। मुख्यतया सेयर खरिद-बिक्री प्रकरणमा दूरसञ्चार प्राधिकरणको अनुमति किन नलिएको र एनसेलको सेयर खरिद-बिक्री भएको हो कि एनसेल सेयरधनीबीच सेयर खरिद-बिक्री भएको हो भन्ने सम्बन्धमा जोड दिँदै आफ्नो स्पष्टीकरण दिएको छ।
पाँच प्रतिशतभन्दा बढीको सेयर खरिद-बिक्रीका सवालमा दूरसञ्चार प्राधिकरणबाट अनुमति किन नलिएको भन्ने सन्दर्भमा उसले एनसेलको सेयर नभई एनसेलका सेयरधनीबीच सेयर खरिद-बिक्री भएको कारण अनुमति लिनु नपर्ने स्पष्टीकरण दिएको छ।
एनसेलको स्पष्टीकरणमा भनिएको छ, 'कम्पनी ऐन, २०६३ को दफा ४६ बमोजिम खडा भएको एनसेलको सेयरधनी दर्ता किताबमा जनिएको सेयरधनीले एनसेलको चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढीको सेयर खरिद-बिक्री गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति लिनु पर्ने प्रयोजनका लागि मात्र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिद-बिक्री) विनियमावली, २०७६ बनेको हो। यो सन्दर्भमा हालको सेयर कारोबार एनसेलको सेयरसँग सम्बन्धित नभई एनसेलको सेयरधनी, विदेशी लगानीकर्ता कम्पनीको सेयर दुई विदेशी कम्पनीहरूबीच विदेशी कानुन बमोजिम विदेशमा नै कारोबार भएको हो। त्यस्तो विदेशीकर्ता कम्पनीको सेयर नेपालमा दर्ता नामसारी हक हस्तान्तरणसमेत नहुने हुन नसक्ने हुनाले त्यस्तो सेयर खरिद-बिक्रीका सम्बन्धमा स्वीकृति लिनुपर्ने अवस्था विद्यमान नभएको।'
उसले एनसेलको सेयरधनी कम्पनी रेनोल्ड होल्डिङको सेयर खरिद-बिक्री भएको सम्बन्धमा सम्बन्धित सरोकारवालाहरूसँग भएको छलफल र प्राप्त जानकारी एवं सम्बन्धित कानुनी व्यवस्थाको अध्ययनमा समेत आफ्नो धारणा राखेको उल्लेख गरेको छ।
एनसेलले दूरसञ्चार ऐन, २०५३ को दफा २ (झ) र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिद-बिक्री) विनियमावली, २०७६ को विनियम २ (ग) ले अनुमति पत्र प्राप्त व्यक्तिको परिभाषा गरेअनुसार दफा २४ बमोजिम दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति पत्र पाएको व्यक्ति सम्झिनुपर्ने उल्लेख गरिएको सन्दर्भमा यहाँ अनुमति पत्र व्यक्ति एनसेल भएको उसले उल्लेख गरेको छ। यस आधारमा एनसेलको सेयर खरिद-बिक्री नभई एनसेलका सेयरधनीबीचको सेयर खरिद-बिक्री भएको उसको प्रष्टीकरण छ।
दूरसञ्चार ऐन, २०५३ को दफा २ (झ) मा अनुमति पत्र प्राप्त व्यक्ति भन्नाले दफा २४ बमोजिम दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति पत्र पाएको व्यक्ति सम्झिनुपर्छ भनेर परिभाषा गरिएको छ। सोही ऐनको दफा २९ (अनुमति पत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने सर्तहरू) मा अनुमति पत्र प्राप्त व्यक्तिले दूरसञ्चार सेवा सञ्चालन गर्दा पालन गर्नुपर्ने यस ऐनमा लेखिएदेखि बाहेकका अन्य सर्तहरू तोकिए बमोजिम हुने व्यवस्था गरिएको छ।
दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (अनुमति पत्र प्राप्त व्यक्तिले पालना गर्नुपर्ने सर्तहरू) को उपनियम (१) ले ऐन वा यस नियमावलीमा उल्लिखित सर्तहरूको अतिरिक्त अनुमति पत्र प्राप्त व्यक्तिलाई सर्त पालना गर्नुपर्ने व्यवस्था गरेको छ। ती सर्तहरूमा खण्ड (ट) मा चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिने सर्त निर्धारण गरिएको छ।
नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम १ को उपविनियम (३) मा यो विनियमावली अनुमति पत्र प्राप्त व्यक्तिको चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद-बिक्री गर्न प्राधिकरणको स्वीकृति लिने दिने प्रयोजनका लागि मात्र लागू हुने व्यवस्था गरेको एनसेलको प्रष्टीकरण छ।
त्यस्तै विनियम २ को खण्ड (ग) मा अनुमति पत्र प्राप्त व्यक्ति भन्नाले ऐन बमोजिम सेवा सञ्चालन गर्न अनुमति पत्र प्राप्त व्यक्ति सम्झिनुपर्छ र सो शब्दले सेवा प्रदायकसमेतलाई जनाउनेछ भनेर परिभाषा गरिएको विषय उसले औंल्याएको छ।
'विनियम ४ (सेयर नामसारी वा खरिद-बिक्री गर्न सक्ने) को खण्ड (क) ले अनुमति पत्र प्राप्त व्यक्तिले आफ्ना सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै विनियम ५ (संलग्न गर्नुपर्ने कागजात) को उपविनियम (१) मा विनियम ४ बमोजिम अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिद-बिक्रीका लागि प्राधिकरणसँग स्वीकृति माग गर्दा तोकिएका कागजात संलग्न गरी स्वीकृति माग गर्नुपर्ने उल्लेख गरिएको छ। जसको खण्ड (ज) मा सेयर लागत मूल्य र खरिद-बिक्री मूल्य खुलेको सेयर खरिद-बिक्रीका लागि भएको द्विपक्षीय सम्झौता (सेयर पर्चेज एग्रिमेन्ट) को प्रतिलिपि उल्लेख भएको भनिएको छ,' एनसेलले आफ्नो प्रष्टीकरणमा थप भनेको छ।
यसबाट स्वीकृति लिनुभन्दा पहिले क्रेता र विक्रेता पक्षबीच द्विपक्षीय सम्झौता (सेयर पर्चेज एग्रिमेन्ट) हुने र त्यसपछि सो सम्झौतासमेत पेस गरी स्वीकृतिका लागि निवेदन दिनुपर्ने देखिन्छ।
'सोही विनियमावलीको अनुसूची १ सेयर खरिद-बिक्री सम्बन्धी निवेदनको ढाँचा र अनुसूची ३ प्रस्तावित सेयर खरिद-बिक्रीको प्रस्तावित लिखतको ढाँचासमेत हेर्दा एनसेलको सेयर खरिद-बिक्रीको सन्दर्भमा मात्र सो विनियमावलीका प्रावधानहरू आकर्षित हनु पर्ने विनियम १ (३) थप पुष्टि भएको,' स्पष्टीकरणमा उल्लेख छ।
अनुमति पत्र प्राप्त व्यक्तिको परिभाषामा दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमति पत्र पाएको व्यक्ति सम्झिनुपर्ने, अर्थात् सेवा प्रदायकसमेतलाई अनुमति पत्र प्राप्त व्यक्ति सम्झिनुपर्ने भएकाले अनुमति पत्र प्राप्त व्यक्ति र सेवा प्रदायक एनसेल भएको उसको भनाइ छ।
दूरसञ्चार नियमावली, २०५४ को नियम १५ मा अनुमति पत्र प्राप्त व्यक्तिले पालन गर्नुपर्ने सर्तहरू छन्। अनुमति पत्र प्राप्त व्यक्ति अर्थात् एनसेलको सेयर दर्ता किताब कम्पनी ऐन, २०६३ को दफा ४६ बमोजिम खडा हुन्छ र दफा ५१ बमोजिम सेयर लगत तयार हुने उसले उल्लेख गरेको छ।
दफा ५१ को खण्ड (ग) अनुसार चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद-बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।
एनसेलले आफ्नो प्रष्टीकरणमा भनेको छ, 'एनसेलको कम्पनी ऐन, २०६३ को दफा ५१ (ग) मा उल्लिखित कम्पनीको चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद-बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने नियमको मक्सद हो भन्ने निष्कर्ष निकालिएको।'
नेपाल दूरसञ्चार प्राधिकरणको विनियमावलीले अनुमति पत्र प्राप्त व्यक्तिको चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद-बिक्री गर्न प्राधिकरणको स्वीकृति लिने दिने प्रयोजनका लागि मात्र लागू हुन्छ। अन्य प्रयोजनका लागि सो विनियमावली लागू नहुने सोच राखिएको एनसेलले आफ्नो प्रष्टीकरणमा राखेको छ।
त्यस्तै उसले सेयर खरिद-बिक्रीको सवालमा नामसारी लिनुपूर्व स्वीकृति लिनुपर्ने निष्कर्षमा पुगेको पनि जनाएको छ।
'नेपाल दूरसञ्चार प्राधिकरण (अनुमति पत्र प्राप्त व्यक्तिको सेयर खरिद-बिक्री) विनियमावली, २०७६ को विनियम ४ मा अनुमति पत्र प्राप्त व्यक्तिले आफ्ना सेयरधनीको सेयर खरिद-बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था गरिएअनुसार अनुमति पत्र प्राप्त व्यक्ति अर्थात् एनसेलले कम्पनी ऐन बमोजिम खडा भएको सेयर दर्ता किताब र सेयर लगतमा देखिएको आफ्नो सेयरधनी (रेनोल्ड वा सुनिभेराले अन्य कुनै तेस्रो व्यक्तिलाई सेयर बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनुपर्ने निष्कर्षमा पुगेको,' एनसेलको प्रष्टीकरणमा भनिएको छ।
त्यस्तै उसले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १९ अनुसार यस्तो कारोबारमा स्वीकृति लिनुपर्ने नभइ जानकारी दिए पुग्ने भनेको छ।
'एनसेलको सेयरधनी रेनोल्ड होल्डिङको सेयर खरिद-बिक्रीको कारोबार टेलिया सोनेरा र आजियाटा यूकेबीच यसअघि २०७२ चैत २९ मा भएको थियो,' एनसेलले आफ्नो प्रष्टीकरणमा भनेको छ, 'सो कारोबार भएपश्चात् यस्तो विदेशमा हुने कारोबारलाई नेपालको कानुनबाट कसरी सम्बोधन गर्न सकिन्छ भन्ने कुरामा विधायिकाले आफ्नो विवेक र बुद्धिमत्ता प्रयोग गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा १९ मा विदेशी लगानीको अनुमति दिने निकायमा यस्तो कारोबारको जानकारी गराई कारोबारको अभिलेख गराउने व्यवस्था गरेकोबाट पनि स्वीकृति लिनुपर्ने होइन, केवल जानकारीसम्म दिनुपर्ने तथ्य पुष्टि भएको...।'