सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले छिमेकी राष्ट्रहरूको प्रगतिबाट नेपालले लाभ लिनसक्नुपर्ने बताएकी छन्।
नेपालस्थित चिनियाँ राजदूतावासको समन्वयनमा साउथ एसिया नेटवर्क टेलिभिजन मिडिया ग्रुपले आयोजना गरेको दोस्रो चाइना–नेपाल मिडिया शिखर सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन्।
मंगलबार बेल्ट एण्ड रोड इनिसियटिभको १०औं वार्षिकोत्सव तथा नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६८ औं वार्षिकोत्सवको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो।
छिमेकीहरूले गरिरहेको आर्थिक प्रगतिबाट नेपाल खुशी रहेको औल्याउँदै मन्त्री शर्माले छिमेकीको विकासबाट नेपालले लाभ लिइरहेको र यसलाई गुणात्मक रूपमा बढाउनुपर्ने बताएकी हुन्।
'चिनियाँ सहयोगमा नेपालमा महत्वपूर्ण आयोजनाहरू अघि बढ्ने हाम्रो अपेक्षा छ। नेपाल–चीन सीमापार रेलमार्ग, केरुङदेखि काठमाडौं–लुम्बिनी रेलमार्गजस्ता आयोजनाहरू अघि बढ्न सकेको खण्डमा यसबाट नेपालको समृद्धिमा नयाँ आयाम थपिने छ,' मन्त्री शर्माले भनिन्, 'छिमेकी र अन्तर्राष्ट्रिय समुदायले सञ्चालन गर्ने विभिन्न परियोजनाहरूमा नेपाल राष्ट्रहित अनुकूल हुने गरी सामेल हुँदै आएको छ।'
चीनले यस्तै महत्वपूर्ण परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सुरू गरेको दश वर्ष पूरा भएको अवसरमा बधाई दिँदै उनले यो परियोजना स्थापित हुनु महत्वपूर्ण प्रगति भएको बताइन्। बिआरआई १५० देश र ३० वटा अन्तर्राष्ट्रिय संस्थाको आर्थिक सहायता प्लेटफर्मको रूपमा स्थापित भएको छ।
मन्त्री शर्माले सम्मेलनमा दुवै देशको पर्यटन प्रवर्द्धनका लागि सरकारले चाल्नुपर्ने कदमका बारेमा उपयुक्त सुझाव आउने अपेक्षा राखेको पनि बताएकी छन्।
नेपाल र चीनबीच खासगरी नून, ऊन र सुनको व्यापार विनिमयबाट दुई देशको सभ्यता र सम्बन्धको सुरुआत भएको उल्लेख गर्दै उनले आजका दिनमा दुवै देशबीचको व्यापार दर बढाउनुपर्ने बताइन्। नेपालले वर्षौदेखि व्यहोर्दै आएको व्यापार घाटा कम गर्न चीनसँगको व्यापार सहयोगी बन्ने नेपालको अपेक्षा रहेको पनि उनले बताइन्।
'नेपालबाट चीनमा गलैंचा, पास्ता, फेल्ट, फर्निचर, हातेकागज, जडीबुटी, तरकारीलगायतका वस्तु निर्यात हुँदै आएको भए पनि आयातको अनुपातमा निर्यातको मात्र निकै न्यून छ,' उनले भनिन्, 'यसमा हामीले वस्तु उत्पादनमा वृद्धितिर ध्यान दिनुपर्ने अवस्था छ। त्यसमा थप नेपाल र चीनबीचका थप नाकाहरू खुला गर्ने, भन्सारबिन्दु सहज बनाउने र भन्सार छुट दिने लगायतका क्षेत्रमा नेपालको गहिरो चासो रहँदै आएको छ।'