ट्विटरको सान फ्रान्सिस्को मुख्यालयमा राखिएको 'एक्स' चिन्ह (लोगो) हटाइएको छ।
गत साता मात्रै कम्पनीले आफ्नो लोगो रिब्रान्डिङ गर्दै परिवर्तन गरेको थियो। लोगोका रूपमा पहिले निलो चरो भएको ठाउँमा कम्पनीले अंग्रेजी अक्षर 'एक्स' राखेको हो।
यसैक्रममा कम्पनीले आफ्नो मुख्यालयको छतमा चम्किलो फ्ल्यासिङ सहितको एक्स लेखिएको होडिङ बोर्ड राखेको थियो।
बेलायती समाचार वेबसाइट द टेलिग्राफका अनुसार उक्त लोगोमाथि धेरैको गुनासो आएपछि लोगो हटाइएको हो।
रिपोर्टका अनुसार लोगो राखिएको छोटो समयमै मुख्यालय वरपरका छिमेकहरूबाट दुई दर्जन बढी गुनासो परेपछि मंगलबार हटाइएको हो। लोगो गत शुक्रबार मात्रै राखिएको थियो।
नयाँ लोगो रातको समय निकै चहकिलो रहेकोदेखि अनधिकृत ढंगमा राखिएकाे, सुरक्षाको हिसाबमा जोखिमपूर्ण रहेको भन्दै गुनासो परेको हो।
कम्पनीका एक अधिकारीका अनुसार एक्सको लोगो अस्थायी थियो। कम्पनीले छोटो समय मात्रै राख्ने योजना बनाएको थियो। तर गुनासो परेसँगै लोगो हटाइएको छ।