सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले प्राथमिकतामा राखेको सुशासन र समृद्धिको एजेण्डालाई पूरा गर्न सूचना तथा सञ्चार प्रविधिको महत्वपूर्ण भूमिका हुने बताएकी छन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको छैटौं सञ्चार तथा सूचना प्रविधि दिवस मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेकी हुन्।
सुशासन सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उजले देशमा रहेको धेरैजसो बेथितिहरूको अन्त्य गर्न र सेवा प्रवाहको क्षेत्रलाई सहज बनाउन सरकार लागिरहेको बताइन्।
वर्तमान सरकार गठन भएदेखि नै सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै अत्यावश्यकीय सेवा क्षेत्रलाई नयाँ गतिका साथ अघि बढाइरहेको समेत बताइन्।
उनले राहदानी, राष्ट्रिय परिचय पत्र, वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि स्थानीयस्तरबाटै श्रम स्वीकृति, वैदेशिक रोजागरीमा रहेका नेपालीहरूलाई नेपालभित्रैबाट विद्युतीय स्वास्थ्य जाँच र परामर्शलगायतका सेवा सरकारले सुरू गरेको र यी सेवा प्रवाह सहज बनाउन सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताइन्।
मे २ लाई 'सञ्चार तथा सूचना प्रविधि दिवस'को रूपमा मनाइँदै छ। यस वर्ष 'सुरक्षित सूचना प्रविधिः सुशासन र समृद्धि' भन्ने नाराका साथ उक्त दिवस मनाइँदैछ।
मन्त्री शर्माले अहिले सूचना तथा प्रविधिको प्रयोग बढीरहेको सन्दर्भमा भनिन्, 'पछिल्लो समय सञ्चार तथा सूचना प्रविधि प्रयोगको विस्तार तीव्र गतिमा भइरहेको छ। सूचना प्रविधि अब मनोरञ्जनको साधन मात्र नभई अत्यावश्यकीय माध्यमको रुपमा स्थापित हुन पुगेको छ।'
उनले यसलाई अझै विस्तार गर्दै सूचना प्रविधिमा आम नागरिकको सुरक्षित प्रयोग र समान पहुँचको अधिकार स्थापित गर्नु आजको दायित्व रहेको विषयमा समेत जोड दिइन्।
उनले साइबर सुरक्षामा देखिएका चुनौतीको सामना गर्न सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्रको स्थापनाको लागि अध्ययन कार्य अगाडि बढाइसकेको समेत बताइन्।
'राष्ट्रिय साइबर सुरक्षाको नीति तर्जुमा कार्य अन्तिम अवस्थामा पुगेको छ। सरकारी सञ्चार तथा सूचना प्रविधि प्रणालीहरूको सुरक्षाको लागि मन्त्रालयमा राष्ट्रिय साइबर सुरक्षा अनुगमन केन्द्रको स्थापना गरी सञ्चालनमा ल्याइएको छ,' उनले भनिन्।
शर्माले सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकास, विस्तार र यसको सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीति, ऐन, नियमावली लगायतका कानुनी व्यवस्थाका लागि सरकार लागिरहेको बताइन्।
यसबाहेक उनले 'डिजिटल नेपाल फ्रेमवर्क २०७६' जारी गरी कार्यान्वयनमा समेत ल्याइएको बताइन्। साथै, एकीकृत कार्यालय व्यवस्थापन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याइएकोलाई उपलब्धीका रूपमा लिएकी छन्।