मोबाइल गेम पब्जी मोबाइल र वर्ल्ड लिंकबीच सम्झौता भएको छ।
गेमिङ अनुभवलाई सुधार गर्न उक्त सम्झैता गरिएको बताइएको छ।
नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी मोबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन्।
'मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा, गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ,' वर्ल्डलिंकका सिइओ केशव नेपालले यस सहकार्यको महत्वलाई जोड दिँदै भने।'
वर्ल्डलिंक र पब्जी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपूर्व कदमको रूपमा लिएको र यसले रोमाञ्चक गेमिङको अनुभवलाई आत्मसाथ गर्ने बताइएको छ।
'थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्ने र यसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ,' नेपालले भने 'यो वृहत भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्नेछ।'
यस साझेदारीको महत्वबारे बताउँदै टेनसेन्ट साउथ एशिया पब्लिसिङका सहायक निर्माता पर्थ शर्माले भने, 'मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ। यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका प्रतिभाहरूले ग्लोबल एस्पोट्र्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएका छन्।'
'पब्जी मोबाइल ग्लोबल च्यापेनशिपमा डिआरएस, डेड आइज् गाइज्, स्काइ लाइट्स गेमिङ र टिटूके जस्ता प्रतिभाले पब्जी मोबाइलका लागि ग्लोबल एस्पोट्र्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता प्रदर्शन गरेका स्पष्ट रूपमा देख्न सकिन्छ।' उनले भने।
उनले यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्ने बताए।
'सिआर७ र ४के गेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएको छन् र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउँदै लैजानु पनि हो। हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं।' शर्माले भने 'त्यसैले हामीले वर्ल्डलिंकलाई एक उत्कृष्ट साझेदारको रूपमा लिएका छौं यस प्रयासले नेपालमा मोबाइल गेमिङ गर्ने हाम्रो जोश र संकल्पलाई आत्मसाथ समेत गर्छ।'
उनले यो दक्षिण एसियाकै सबैभन्दा ठूलो सफलता एवं सानो सुरूवात मात्र रहेको समेत बताए।
यस साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्नेछ।
नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा समेत गरिएको छ।
वर्ल्डलिंकका सिइओले भविष्यमा नेपाली गेमिङ एपहरूसँग पनि सहकार्य गर्न समेत तयार रहेको बताए।