ट्विटर इंकले शुल्क नतिर्ने प्रयोगकर्ताहरूको खाताबाट ब्लु-टिक हटाउन सुरू गरेको छ। ट्विटरले केही समय अघिदेखि नै ब्लु-टिकको लागि निश्चित शुल्क लाग्ने र सो शुल्क नतिर्ने प्रयोगकर्ताहरूको खाताबाट ब्लु-टिक हटाउने बताउँदै आएको थियो।
एलन मस्क ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएसँगै उनले यो व्यवस्था लागू गर्ने बताएका थिए। नियम लागू हुन केही ढिलाई गरेपनि बिहीबारदेखि भने अधिकांश खाताबाट ब्लु टिक हटेको छ।
ट्विटरले केही समय अघिदेखि नै सन् २०२३ को अप्रिल १ देखि व्यक्तिगत प्रयोगकर्ताहरूले ब्लू टिकको लागि मासिक ८ अमेरिकी डलर र संस्थाहरूले संस्थागत खातामा ब्लू टिकको लागि मासिक एक हजार डलर तिर्नुपर्ने नियमको घोषणा गरेको थियो।
प्रख्यात व्यक्तित्वहरू जस्तै धनाड्य व्यक्ति बिल गेट्स, सेलिब्रेटीहरू किम कार्डासियन, अमिताभ बच्चन, साहरुख खान लगायतको ट्विटर खाताबाट पनि शुल्क नबुझाएको भन्दै ब्लु टिक हटेको छ। व्यक्तिहरूसँगै विभिन्न अन्तर्राष्ट्रिय संस्था, गैर-नाफामुलक संस्था र सार्वजनिक सेवा खाताहरूबाट पनि ब्लु टिक हटेको छ।
ट्विटरले आफ्नो प्लेटफर्ममा रहेका खाताहरूलाई व्यवस्थित गर्न ब्लु टिक भेरिफिकेसनको सुरुआत गरेको थियो। तर सन् २०२२ मा मस्क ट्विटरका सिइओ भएसँगै ब्लु टिकको लागि सब्स्क्रिप्सन सुरू गरेका हुन्।