नेपालको निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेड र ग्लोबल मोबाइल नेटवर्क कम्पनी ट्रुफोनबीच ई-सिम वितरणको लागि सम्झौता भएको छ।
ट्रुफोनले नेपालमा एनसेल नेटवर्क प्रयोगकर्ताहरूलाई ई-सिम वितरण गर्नका लागि उक्त सम्झौता भएको हो।
हाल एकसेलका एक करोड ७० लाख बढी प्रयोगकर्ता छन्। ट्रुफोनसँगको सहकार्यसँगै यसले रिमोट सिम प्रोभिजनिङ प्लेटफर्म (आरएसपी) र ई-सिम लन्च प्याडमार्फत ई-सिम वितरण छिटो, छरितो र सहज बनाउनेमा एनसेल सकारात्मक छ।
ट्रुफोनले आफ्नो जिएसएमए प्रमाणित ई-सिम व्यवस्थापन प्लेटफर्म मार्फत ग्राहकहरूलाई ई-सिम वितरण गर्ने हुँदा यसमा थप विकल्प र नियन्त्रण गर्न सकिने सुविधाहरू प्रदान गर्ने बताइएको छ।
ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो। यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपको रूपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ।
यो भौतिक रूपमा प्रयोग हुने सिमभन्दा सुरक्षित मानिन्छ। केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम उक्त मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन।