एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक्वल फाउन्डेसनले आयोजना गरेको तीनदिने महिला ह्याकाथन ‘ह्याकिङ फर ह्युम्यानिटी’ सम्पन्न भएको छ।
कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने समाधान (सोलुसन) हरूमा काम गरेका छन्।
कम्पनीका अनुसार ह्याकाथनको अन्तिम दिन आइतबार सम्बन्धित समूहहरूको प्रस्तावपश्चात विजयी समूह घोषणा गरिएको थियो।
ह्याकाथनमा सहभागी १६ टिममध्ये टिम कोड क्राफ्टर्सले नगद एक लाख पचास हजारसहित प्रथम पुरस्कार जितेको छ। टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्छ।
त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्री दोस्रो भएको छ। यो टिमले एक लाख नगद पुरस्कार पायो।
ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टम तेस्रो हुँदै ७५ हजार नगद पुरस्कार पाउन सफल भएको कम्पनीले जनाएको छ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना प्रविधि क्षेत्रका युवा र उत्साही महिलाहरूलाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न सहयोग गरेको बताए।
'यो कार्यक्रम महिलाहरूलाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्न प्रेरणादायी साबित भएको छ। यसले महिला र नन–बाइनरी छात्राहरूलाई अवसरका साथै उनीहलाई आवश्यक प्लेटफर्म प्रदान गरेको छ,' उनले भने।
एनसेलले विविधता, समानता र समावेशीकरणप्रति आफ्नो प्रतिबद्धता अनुरूप महिलाहरूलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उद्देश्यअनुरूप शिक्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो।
'गर्ल्स इन टेक' र 'वुमन इन बिग डेटा' साझेदारका रूपमा रहेको यो कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीलाई एक साथ नवीन सोलुसन विकासका लागि अवसर प्रदान गरेको कम्पनीको भनाइ छ।
माघ २७ देखि २९ सम्म भएको ह्याकाथनमा विभिन्न विषयमा टक-कार्यक्रम र कार्यशालाहरू भएको थियो। सहभागीलाई आफ्नो प्रोजेक्ट विकासका लागि चाहिने सीप पनि प्रदान गरिएको थियो। सहभागीहरूलाई विभिन्न क्षेत्रका विज्ञ व्यक्तित्वहरूले प्रशिक्षण दिएका थिए। पहिलो दुई दिन आफ्नो सोलुसनमा काम गरी सहभागी टिमले तेस्रो दिन आइतबार निर्णायक मण्डलसामु आफ्नो आइडिया प्रस्तुत गरेका थिए।
शिक्वल फाउन्डेसनका सह–संस्थापकहरू आस्था शर्मा र मेलिशा घिमिरेले सहभागी सबैको उत्साह र कडा परिश्रमका लागि कृतज्ञता व्यक्त गर्दै आगामी ह्याकाथनको लागि तत्पर रहेको बताए।