एप्पलले सिरीको लागि दुई नयाँ आवाज थपेको छ, जसमा प्रयोगकर्ताले महिलाको आवाज बाहेक अरु विकल्प पनि पाउनेछन्।
सिरी एप्पलको स्मार्ट भ्वाइस असिस्टेन्ट हो। यो फिचरबाट प्रयोगकर्ताले बोलेर आइफोनभित्रको सबै काम गर्न सक्छन्।
एप्पलले वर्षौँदेखि नयाँ भाषा र आवाज विकल्पहरुका साथ सिरी अपडेट गरिरहेको छ। तर बुधबार भएको अपडेटबाट हरेक पटक महिला आवाजलाई असिस्टेन्टको रुपमा प्रयोग गर्ने बाध्यता हटाइएको एप्पल इन्साइडरले लेखेको छ।
सिरीमा दुई नयाँ आवाज थपेर प्रयोगकर्तालाई सेटअपमा आफूलाई मनपर्ने आवाज छनौट गर्न मिल्ने बनाइएको कम्पनीले बताएको छ।
यसअघि आइफोनको सेटअपमा नै सिरीको आवाज महिलाको थियो। त्यो परिवर्तन गर्न प्रयोगकर्ताले सेटिङमा गएर मिलाउनु पर्ने हुन्थ्यो। आवाजहरु फरक उच्चारणमा प्रस्तुत हुन्थ्यो भने आवाजको छनौटमा महिला र पुरुषको विकल्प मात्र थियो।
अब भने सिरीको आवाज लिंगको आधारमा नभई ‘भोइस १’ र ‘भोइस २’ विकल्प छान्न सकिन्छ। यो दुई नयाँ फिचर एप्पलको आइओएस १४.५ र आइप्याडओएस १४.५ मा उपलब्ध छ।