देशभर करिब आधा दर्जन सक्रिय इन्टरनेट सेवा प्रदायक (आइएसपी) कम्पनीहरु छन्। नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार यी आईएसपीहरुको कुल ग्राहक संख्या करिब २ लाख छन्।
यी आइएसपीहरुबीच ग्राहक संख्या बढाउने होडबाजी नै चलेको छ। ग्राहक संख्या बढाउनका लागि यी कम्पनीहरुले आकर्षक प्याकेजहरु ल्याउने तथा चाड पर्वका अवसरमा धेरै छुट सुविधा दिने प्रतिस्पर्धा नै चल्ने गर्छ।
इन्टरनेटको प्रयोजन, प्रयोगकर्ताको संख्या तथा डाटा खपतको आधारमा कम्पनीहरुले विभिन्न प्याकेज वा स्किम बनाएका हुन्छन्।
यस्ता प्याकेज व्यक्ति, परिवार तथा सानादेखि ठूला कार्यालयहरुका लागि भनेर तयार पारिएको हुन्छ।
यस्तोमा आफूलाई सुहाउँदो डाटा प्याकेज कसरी छनोट गर्ने त ?
सुविसु केबल नेट प्रालिकी मिडिया कोर्डिनेटर रेजिना आचार्यका अनुसार आइएसपीहरुले औसत रुपमा ग्राहकको वर्गीकरण गरेर प्याकेज बनाउँछन्। तिमध्ये आफूलाई सुहाउँदो स्पिड, डाटा भोल्युमका आधारमा प्याकेज छनोट गर्न सक्नेछन्।
प्याकेज छनोट गर्दा प्राविधिकहरुसँग परामर्श गरेमा उनीहरुले प्रयोजनलाई हेरेर सुहाउँदो प्याकेजका लागि सल्लाह दिन सक्छन्। इन्टनेट निकै समय अघिदेखि नै चलाईरहेका साथीभाई वा आफन्तहरुसँग कुन कम्पनीको इन्टरनेट कस्तो छ भन्ने जानकारी लिएर पनि प्याकेज छनोट गर्न सकिन्छ।
वर्ल्डलिङ्क कम्युनिकेसन प्रालिका प्राविधिक उज्वल सापकोटाका अनुसार औसत एक परिवारलाई ५ एमबिपिएस स्पिड भएको इन्टरनेट सुहाउँदो हुन्छ।
सामान्यतः वेबसाइटहरु खोल्न, मेल पठाउन वा हेर्न, फेसबुक, भाइबर, म्यासेन्जर जस्ता सामाजिक सञ्जाल खोल्न र भिडियोको धेरै प्रयोग नहुने साइट हेर्ने कार्यमा डाटा खर्च गर्ने हो भने २ एमबिपिएस स्पिडसहितको लिमिटेड प्याकेज छनोट गर्न सकिने उनले बताए।
तर कम सदस्य भए पनि धेरै डाटा खपत गर्ने ‘हेभी युजर’ भएको खण्डमा वा युट्युब हेर्न, सामाजिक सञ्जाल चलाउन तथा एड्भान्स वेबसाइट खोल्न समेत ५ एमबिपिएस स्पिडको प्याकेज पर्याप्त हुने उनको बुझाई छ।
टोरेन्ट जस्ता साइटहरुबाट लामा खालका भिडियोहरु डाउनलोड गर्ने, युट्युब तथा अन्य भिडियो साइटहरु धेरै हेर्ने, इन्टरनेट मार्फत धेरै काम गर्नुपर्ने तथा इन्टरनेट टिभी जस्ता कार्यमा धेरै ब्याण्डविथ आवश्यक पर्ने हुनाले उच्च एमबिपिएस स्पिड भएको अनलिडिटेड प्याकेज सुहाउँदो हुने उनको तर्क छ।
‘अफिसहरुमा भने सामान्यतया १० एमबिपिएस भन्दा माथिका प्याकेज छनोट गर्दा सहज हुन्छ’ उनले भने। भायोनेट कम्युनिकेसन प्रालिका प्राविधिक हरी शाहीको अनुभवमा इन्टरनेट सेवा प्रदायक कम्पनीका अफरभन्दा पनि ग्राहक स्वयंले प्रयोजन तथा प्रयोगकर्ता संख्याका आधारमा आफूलाई अनुकुल प्याकेज छान्ने गर्नुपर्छ।
हाल यी आइएसपीहरुले ५ एमबिपिएस स्पिड तथा अनलिमिटेड डाटा भोल्युमको शूल्क प्रति महिना १२ सय देखि २३ सयसम्म लिने गरेका छन्। त्यस्तै त्यसभन्दा माथि १० एमबिपिएस स्पिड तथा अनलिमिटेड प्याकेजको मासिक शूल्क १६ सयदेखि ३ हजार सम्म पर्छ।
आइएसपीले दिएको कस्टमर पोर्टल आइडी मार्फत खपत भएको डाटाको विवरण हेर्न सकिन्छ। यदी प्याकेजले दिएको डाटा भन्दा कम मात्र खपत हुने रहेछ भने डाटा प्याकेजको भोल्युम घटाएर नयाँ प्याकेज लिन सकिन्छ।
प्याकेजको डाटा भन्दा धेरै खपत हुने भएमा त्यसै अनुसारको नयाँ प्याकेज लिनु बुद्धिमानी हुने प्राविधिकहरु सुझाब दिन्छन्। उनीहरुका अनुसार इन्टरनेट जडानपछि बेलाबेलामा वाइफाईको पासवर्ड परिवर्तन गरिरहने, बे्रक गर्न नसकिने ड्ब्लुपिएस राख्ने, सस्तो भन्दा पनि गुणस्तरीय राउटरको प्रयोग गर्ने जस्ता कुरामा जोड दिने गर्नुपर्छ।