लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण तथा खेलकुद केन्द्रमा भूकम्पपश्चात हुन नसकेको देशकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘नेसनल लिग’ जारी छ।
आजबाट सुरु भएको प्रतियोगितामा जम्मा २० टिमको सहभागिता छ। आजको पहिलो खेलमा दुई फुटबल टिमहरु भिड्नमा व्यस्त देखिन्थे।
एउटा टिमका सदस्यहरु अर्को टिमका सदस्यहरुलाई छक्याएर बल विपक्षीको पोष्टभित्र छिराउनमा प्रयासरत थिए। तर त्यसलाई पटक पटक असफल बनाइदिन्थे गोल रक्षकले।
व्यापक प्रतिस्पधात्मक सो खेल हेर्न पुगेका उपस्थित दर्शक निकै उत्साहित देखिन्थे। तर आर्मी सेन्टरमा जारी प्रतियोगिता दशरथ रंगशालामा हुने गरेको नेसनल लिगभन्दा फरक छ। यो यन्त्रहरुको लिग हो भने यसमा सहभागी सबै खेलाडीहरु रोबोट हुन्।
रोबोटिक्स एसोसियसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आएको रोबोटिक्स प्रतियोगिताको छैटौँ सस्करणमा सम्मेलित ५ खेलमध्ये एक हो यन्त्र नेसनल लिग।
यस लिगमा फुटबलमा जस्तै दुई टिमहरुबीच जसले बढी गोल गर्यो, उसैलाई विजेता घोषित गरिन्छ। एक टिममा गोलरक्षकसहित ३ रोबोटहरुले खेल्न पाउँछन् भने तिनलाई ‘रिमोट कन्ट्रोल’ मार्फत निर्माता विद्यार्थीहरुले परिचालित गर्छन्। यी प्रत्येक रोबोटको वजन ३ केजीभन्दा कम छ।
फुटबल खेलको नियम झैं यसमा पनि फ्री किक, पेनाल्टीको व्यवस्था गरिएको छ। खेलमा रेफ्री समेत छन्। प्रत्येक खेल ६ मिनेटको हुन्छ, जसमा हाफपूर्व ३ र हाफ पश्चात ३ मिनेट छुट्याइएको हुन्छ। हाफका लागि २ मिनेटको समय राखिएको छ।
खेल समयको अवधिभर दुबै टिमबाट बराबरी वा गोल हुन नसकेको खण्डमा १.५ मिनेट थप समय दिइन्थ्यो। तर थपिएको समयमा समेत गोल भएन वा गोलसहितको बराबरी भयो भने खेल पेनाल्टीतर्फ धकेलिन्छ।
मैदान १२ ×८ फिटको थियो भने ‘सेन्टर लाइन’, ‘सेन्टर सर्कल’ र ‘डि एरिया’ को स्पष्ट रेखा कोरिएको छ। २.५ फिटको लम्बाइ र २ फिटको उचाइ साइज भएको गोल पोष्ट निर्माण गरिएको छ।
खेलमा प्रयोग गरिएको बलको साइज करिब १० सेन्टिमिटरको थियो। भूकम्पले ध्वस्त बनाएको दशरथ रंगशालामा नेसनल लिग नभएको ३ वर्ष बितेपछि व्यङ्यात्मक रुपमा आफूहरुले रोबोटको लिग खेल आयोजना गरेको बताउँछन् रोबोटिक्स एसोसियसन अफ नेपालका उपाध्यक्ष उत्सव महर्जन।
‘एउटा मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला पुनर्निर्माण नहुँदा फुटबल क्षेत्रलाई ठूलो क्षति पुगेकाले वैकल्पिक व्यवस्था गरेर भएपनि लिग पुन सुरु गर्न हामीले यसरी व्यङ्ग्यात्मक दबाब दिएका हौँ’ उनले भने।
‘यन्त्र ६’ नाम दिइएको यस संस्करणमा यन्त्र लिगबाहेक अन्य थप ४ वटा थिममा रोबोटहरुबीच प्रतिस्पर्धा भइरहेको छ।
पाङ्ग्रारहित रोबोटबीचको प्रतिस्पर्धा, म्यानुअल अखडा, अटोमेटिक अखडा र ड्रोन रेसिङ गरी रोबोटहरुको चार प्रतिस्पर्धा राखिएको श्रेष्ठले जानकारी दिए।
ड्रोन रेसिङमा विभिन्न सहभागी विधार्थीहरुले बनाएको ड्रोनहरुलाई भिआर सेट लगाई दौडमा उतार्नुपर्ने हुन्छ तथा बाटोमा आइपर्ने समस्यालाई पार गराउँदै अन्तिम स्थानसम्म पुग्ने ड्रोनलाई विजेता घोषणा गरिने श्रेष्ठले बताए।
‘नेपालको भौगोलिक विकटमा समेत ड्रोन उडाउन सक्ने गरी विधार्थीमा क्षमता अभिवृद्धि होस् भन्ने सोचले हामीले रेसिङ कार्यक्रम राखेका हौँ’ श्रेष्ठले भने।
त्यस्तै म्यानुअल र अटोमेटिक अखडामा भने रोबोटहरुले विपक्षीलाई रेस्लिङको ‘रोयल रम्बल’ झैं रिङबाट बाहिर निकाल्नुपर्ने हुन्छ। म्यानुअल अखडामा रोबोटलाई चलाउने काम निर्माताले गर्छन्। अटामेटिकमा भने रोबोट प्रयोग भएको सेन्सरको माध्यमबाट विपक्षीको पहिचान गरी निर्माताको सहयोगबिनै हराउनु पर्ने छ।
रोबोटिक्स प्रतिस्पर्धाका सबै खेलको फाइनल भोलि सोमबार हुने आयोजकले जनाएको छ। प्रतियोगितामा सबै रोबोट निर्माताहरु इन्जिनियरिङ अध्ययन गरिरहेका नेपाली विधार्थीहरु हुन्।
नेपालमा बन्ने रोबोटहरुको सम्भाव्यता परीक्षण तथा प्रवद्र्धन र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजकको भनाइ छ। यसबाहेक ८ दिनसम्म ‘आर्ट एण्ड टेक फेस्टिबल’ समेत चल्ने आयोजकले बताएको छ।