दसैंको सांस्कृतिक मात्र होइन, आर्थिक महत्त्व पनि छ। यो बेला खाद्यान्न, मरमसलादेखि लत्ताकपडा र विभिन्न उपभोग्य वस्तुको व्यापार बढ्छ। जिउँदो खसी, बोका र च्यांग्राको व्यापार त्यसैमध्ये एक हो।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिउँदो खसी-बोका प्रतिकिलो ६ सय ७० र च्यांग्रा १२ सय ३० रूपैयाँमा बेचिरहेको छ। निजी क्षेत्रको भाउ के छ त?
यही जान्न हामी पुग्यौं, कलंकीको खसी बजार।
यहाँ खसी प्रतिकिलो ६ सय ८० देखि ७ सय २५ रूपैयाँमा बिक्री भइरहेको छ। बोका ६ सय ५० देखि ७ सय र च्यांग्रा १२ सय ५० देखि १३ सय रूपैयाँ रहेको बजार व्यवस्थापनका अध्यक्ष जनककुमार खड्काले जानकारी दिए।
उनका अनुसार दसैंमा व्यापारिक प्रयोजन र घरायसी उपभोग गरी दुई प्रकारका ग्राहक कलंकी बजार आउँछन्। घरायसी प्रयोजनका लागि खसी किन्ने ग्राहकको भीड फूलपातीदेखि सुरू हुन्छ भने मासु बिक्रेताहरूको चाप घटस्थापनादेखि नै बढ्छ।
उपभोक्ता नठगिऊन् भनेर पशु सेवा विभागले स्वस्थ खसी चिन्न सिङमा रङ लगाइदिएको हुन्छ। हरियो रङ लगाइएको छ भने स्वस्थ खसी हो भन्ने बुझ्नुपर्छ। रातो रंगले अस्वस्थ भएको संकेत गर्छ। यस्तो रङ लगाइएको खसी खान अयोग्य हुन्छ।
मानिसहरू नजिक जाँदा खसी-बोकाले गर्ने व्यवहारका आधारमा पनि स्वस्थ हो कि होइन पत्ता लगाउन सकिने विज्ञ बताउँछन्।
स्वस्थ खसी-बोका चनाखा हुन्छन्। मान्छे नजिक पर्नेबित्तिकै सुँघ्ने र खानेकुरा खोज्ने गर्छन्। कुनै खसी-बोकाले आफू वरिपरिको मान्छेलाई वास्ता गरेन, खानेकुरा खान रूचि देखाएन, झोक्राएर बस्यो वा आँखामा कचेरा जमेको छ भने अस्वस्थ छ भन्ने बुझ्नुपर्छ।
यसरी मोलतोल गर्दै किनिन्छ खसी, हेर्नुहोस् भिडिओमा —