दसैंमा अधिकांशको घरमा मासु पाक्छ। मांसाहारीहरूले मासुका विभिन्न परिकारको स्वाद लिन पाउँछन्।
तर कतिलाई मासु मन पर्दैन। कति शाकाहारी हुन्छन्। अनि कतिलाई मासु खाँदा खाँदा वाक्क लाग्न सक्छ।
यस्तोमा मासुबाहेक विशेष परिकार के खाने भन्ने लागिरहेको छ भने आज हामी तपाईंहरूलाई बटुक बनाउन सिकाउँदैछौं।
पश्चिमी नेपालमा बटुक भनिने यो परिकार पूर्वी भेगको फुलौराजस्तै हो। तर बटुक बीचमा प्वाल पारेर डोनटजस्तै आकारमा बनाइन्छ भने फुलौरा मस्यौराजस्तै बनाउने चलन छ।
बटुक कसरी पकाउने भनेर हामीलाई होटल हिमालयका एक्जुकेटिभ शू-सेफ मोहन कुँवरले तरिका सिकाएका छन्। उनैले तयार पारेको रेसिपी हामीले यहाँ पेस गरेका छौं।
आवश्यक सामग्री
- एक ठूलो कप कालो दाल (कालो मास)। यो दुईदेखि तीन जनाका लागि हो। त्योभन्दा बढी मान्छे भए सोही अनुसार मास थप्दै जानुपर्छ।
- तीन चम्चा अदुवाको पेस्ट।
- एक चम्चा लसुन पेस्ट (वैकल्पिक)।
- एक चम्चा बेसार।
- स्वाद अनुसार नुन।
- दुई कप वनस्पति तेल
बनाउने तरिका
सबभन्दा पहिले मासको दाल रातभर वा कम्तीमा ५–६ घन्टा भिजाउनुहोस्।
भिजेको दाललाई हातले राम्ररी माड्नुहोस् र बाहिरी कालो बोक्रा हटाउन धेरै पटक धुनुहोस्। बोक्रा सबै हटाउन भने आवश्यक छैन।
त्यसपछि दाललाई मध्यम वा मसिनो पेस्ट बनाउनुहोस्। मिक्सरमा पिस्नुभन्दा सिलौटो वा ओखलमा पिस्दा राम्रो हुन्छ। थोरै दानेदार पेस्टले बटुक राम्रो देखिन्छ र स्वाद पनि मिठो हुन्छ।
पेस्ट ठूलो भाँडामा हाल्नुहोस्। अब त्यसमा नुन, बेसार, अदुवा र लसुनको पेस्ट (वैकल्पिक) हाल्नुहोस् र राम्ररी चलाउनुहोस्।
कम्तीमा आधा घन्टाका लागि छोड्दिनुहोस्।
अब बटुक फ्राइ गर्न कराइ वा प्यानमा दुई कप वनस्पति तेल तताउनुहोस्।
पेस्टको सानो मात्रा छोडेर तेल जाँच गर्नुहोस्। फ्राइका लागि तेल तयार भएपछि आफ्नो हात भिजाउनुहोस् र पेस्टको सानो मुठ्ठी लिनुहोस्।
बीचमा सानो प्वालको साथ डोनट वा रिङ आकार बनाउनुहोस् र बिस्तारै तेलमा हाल्नुहोस्। आफ्नो इच्छाअनुसार बीचमा प्वाल नपारी आलुचप आकारमा बटुक बनाउँदा पनि हुन्छ।
पेस्ट लिनुअघि प्रत्येक पटक आफ्नो हात भिजाउनुहोस्।
बटुक रातो नभएसम्म दुवै पट्टि फ्राइ गर्नुहोस्। दुवैपट्टि रातो रातो भएपछि निकाल्नुहोस्।
अब बटुक तयार भयो।
बटुक गोलभेँडाको अचार, चुकानी (पानीपुरीको जस्तै पानी) र चुकाउनीसँग खान सकिन्छ।