नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नहुने जनाएको छ। निगमका प्रवक्ता दिपक बरालले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नहुने बताएका छन्।
शुक्रबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अन्तराष्ट्रियस्तरमै मूल्यबृद्धि भएकाले त्यसको विरोध गर्नु सान्दर्भिक नभएको तर्क गरे।
‘मूल्य बृद्धि हामीले गरेका होइनौँ, अन्तर्राष्ट्रिय मापदण्डका आधारमा गरिएको हो’ उनले भने ‘निगमको मासिक घाटालाई कतैबाट सन्तुलन राख्ने मार्ग सरकारले देखाउँछ भने फिर्ता गरौँला।’ अहिलेको अवस्थामा ग्यासमा प्रति सिलिण्डर २४० रुपैयाँ घाटामा बेचिरहेको उनले बताए।
प्रवक्ता बरालले ग्यास उद्योग व्यवसायीहरुले ५ प्रतिशत कमिशन माग गरेकोमा आपत्ति जनाउँदै सरकारी नियम कानुनको पालना गर्न आग्रह गरे।
मासिक २६ करोडले निगम घाटामा गएको बताउँदै प्रवक्ता बरालले विगत २०५६ सालदेखि आजसम्म निगमका कर्मचारीले बोनस भत्ता प्राप्त नगरेको बताए।
नापतौल तथा गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडाशैनीले नेपाल ग्यासबाहेक अन्य उद्योगहरु सुरक्षाका हिसाबले कमजोर रहेको भन्दै दोषी उद्योगमाथि कारबाही गरिने चेतावनी दिए।
‘सबै निकायले ग्यासको बारेमा सचेतना दिनुपर्छ, मापदण्ड लागू गर्नुपर्छ’ उनले भने’ उनले भने ‘व्यवसायीहरुले पहिले सरकारी नियमलाई अक्षरश पालना गर्नुपर्छ त्यसपछि मात्र कमिशनको माग गर्नु राम्रो होला।’
ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले उद्योगीहरुका माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्। मोरङमा जारी आन्दोलनलाई ग्यास विक्रेता महासंघको समर्थन रहेको बताउँदै अर्यालले सबै किसिमका मापदण्डहरु पुरा गरेको दावी गर्दै ५ प्रतिशत कमिशन नपाए आन्दोलन गर्ने चेतावनी दिए।
त्यस्तै एलपी ग्यास महासंघका अध्यक्ष गोकुल भण्डारीले नेपाल आयल निगमको नियमनको अभावले सुपर ग्यास घटना घटेको दाबी गरे। उनले भने, ‘नेपाल आयल निगमले अनुमति दिन्छ तर पछि निरिक्षण गर्ने काम गर्दैन, कमजोरी भेटिएमा कारबाही गर्न सक्दैन, जे–जे भयो उद्योगलाई दोष दिन्छ।’
कार्यक्रममा उपभोक्ता हित संरक्षण समितिका सचिव विष्णुप्रसाद तिमिल्सिनाले आम उपभोक्ता र व्यवसाय उपभोक्तालाई फरक फरक मूल्य निर्धारण गर्नुपर्ने माग गरे।