श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारीका लागि इसराइल जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्न चार संस्था सूचीकृत गरेको जनाएको छ।
मन्त्रालयले वेबसाइटमा एक सूचना जारी गर्दै विशेषज्ञ समितिको साउन २७ गतेको निर्णय सिफारिसका आधारमा चार संस्थालाई सूचीकरण गरेको जनाएको हो।
ती चार संस्था अन्तर्गत सानेपास्थित स्टार हस्पिटल, मन्डिखाटारको ह्याम्स हस्पिटल, मनमोहन मेमोरियल मेडिकल कलेज र क्रिस्टल डायग्नोस्टिक प्रालि छन्।
उच्च अदालत पाटनको परमादेशमा उल्लेखित एक संस्थाको हकमा हाललाई सूचीकण स्थगन गरिएको मन्त्रालयले उल्लेख गरेको छ।
यसअघि वैदेशिक रोजगार विभागले स्वास्थ्य परीक्षणका लागि पाँच संस्था तोकिएको जनाएको थियो। जसमा विभिन्न चार वटा अस्पताल र एउटा ल्याब गरी पाँच संस्था थिए।
ती पाँच संस्थामा भैँसेपाटी ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल, सानेपास्थित स्टार हस्पिटल, मन्डिखाटारको ह्याम्स हस्पिटल, मनमोहन मेमोरियल मेडिकल कलेज र क्रिस्टल डायग्नोस्टिक प्रालि थिए।
यी संस्थाहरू श्रम मन्त्रालयले छानेको वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गराउने संस्थाको सूचीमा सूचीकृत थिएनन्।
जसले गर्दा यी संस्था छनोटपछि कतिपय व्यवसायीले सिन्डिकेट खडा भएको आरोप लगाउँदै विरोध जनाएका थिए। उनीहरूले मन्त्रालयलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा मुद्दा हालेका थिए।
उच्च अदालत पाटनले २०८१ चैत ६ गते ती संस्थालाई सूचीकृत गर्न र ती पाँच मध्ये एकको सूचीकरण स्थगत गर्न परमादेश जारी गरे अनुसार मन्त्रालयले चार संस्था सूचीकृत गरेको जनाएको हो।
अदालतको परमादेश अनुसार भैँसेपाटी ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालको सूचीकरण स्थगन गरिएको मन्त्रालयले बताएको छ।