श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित हुने भएका छन्।
पछिल्लो समय वैदेशिक तथा आन्तरिक रोजगार क्षेत्रमा सुधारका काम गरिरहेका अर्याललाई राष्ट्रपति विद्यादेवी भण्डारीले सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मान गर्ने घोषणा गरेकी हुन्।
उनले वैदेशिक रोजगार सेवालाई छिटोछरितो तथा प्रविधिमैत्री बनाएका छन्। सबै प्रकारका श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाटै दिन थालिएको छ। यसले गर्दा वैदेशिक रोजगार कार्यालयमा दिनहुँ धाउनुपर्ने बाध्यता अन्त्य भएको छ। त्यस्तै वैदेशिक रोजगारलाई फेशलेस, पेपरलेस र क्यासलेस बनाउने प्रयास भइरहेको छ।
यो पदकबाट उनीसँगै अरू तीन जना सचिव पनि सम्मानित भएका छन्। सम्मानित हुनेमा सचिव डा. प्रेमनारायण कँडेल, कृष्णहरि पुस्कर र लिलादेवी गड्तौला छन्।
त्यस्तै कुलमान घिसिङ, वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहित नीर शाह, राजेश हमाल, गंगाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला), नन्दकृष्ण जोशी, उन्नती बोहरा (शिला), चन्द्र ढकाल, पशुपति मुरारका, प्रा श्रीमती भूषण श्रेष्ठ, नरबहादुर कँडेल गरी कुल १७ जनालाई राष्ट्रपति भण्डारीले यो पदकबाट सम्मानित गर्ने घोषणा गरेकी हुन्।