आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरीमा काठमाडौंमा पहिलो दिन ६८३ जनाले आवेदन दिएका छन्।
बिहीबारदेखि म्यादी प्रहरीको आवेदन खुला भएको हो। जसमध्ये काठमाडौंमा मात्रै ६८३ जनाले आवेदन दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए।
यसमध्ये २३८ जना महिला र ४४५ जना पुरूष छन्। जसमा पहिल्यै म्यादी प्रहरीमा भर्ना भएका १२७ जना महिला र २०३ पुरूषले पनि आवेदन दिएका छन्।
पूर्व सुरक्षाकर्मी नेपाली सेनाका १२ जना पुरूष, नेपाल प्रहरीबाट दुई जना पुरूष र सशस्त्र प्रहरी बलबाट एक जना पुरूष छन्।
यस्तै सुरक्षा निकायमा विभिन्न पदमा भदौ महिनासम्म भर्नाका लागि आवेदन दिएका तर तन्दुरूस्ती तथा स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका दुई जना महिला र पुरूष तीन जना छन्। बाँकी खुला सर्वसाधारणमा १०९ जना महिला र २२४ जना पुरूषले आवेदन दिएको परिसरले जनाएको छ।
निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीको माग गरेकोमा बिहीबारदेखि आवेदन खुला गरेको हो।
म्यादीमा भर्ना हुन आवेदन दिन आजदेखि हरेक जिल्ला प्रहरी कार्यालयमा ठूलो संख्यामा युवाहरूको भिड लागेको छ। आवेदन दिनेमा डिग्री होल्डरदेखि आमाहरूसम्म छन्।
म्यादी प्रहरीको सेवा अवधि ४० दिनको हुनेछ। छानिएमा प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त हुनेछ।
यस्तै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ठ ७ हजार २०० रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम रासन दररेट अनुसारको रकम पाउनेछन्।
तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रूपैयाँ एकमुष्ठ उपलब्ध हुनेछ। हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रङको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रूपैयाँ उपलब्ध हुनेछ।
निर्वाचनका क्रममा खटिने म्यादी प्रहरीहरूलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरूप प्रति म्यादी प्रहरी एकमुष्ठ १ हजार रुपैयाँका दरले तयारी खर्च उपलब्ध हुनेछ भने ३ सय रूपैयाँको दरले ४ दिनका लागि खाजा खर्च उपलब्ध हुनेछ।