नेपाल उद्योग परिसंघ (सिएनआई) ले 'सिएनआई रोजगार मेला' आयोजना गर्ने भएको छ।
कामको खोजीमा रहेकाहरूलाई रोजगारी दिलाइदिने उद्देश्यले यो मेला गर्न लागिएको हो।
कर्मचारी पाउने तर सीपयुक्त कर्मचारी पाउन नसक्ने अवस्था विद्यमान छ। के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच सामन्जस्यता हुन सकिरहेको छैन? यसका लागि निजी क्षेत्र, सरकारी निकायहरूको कस्तो भूमिका आवश्यक पर्छ? भन्ने विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा 'सिएनआई रोजगार तथा सीप मेला २०७९' आयोजना गर्न लागिएको हो।
यस मेलाले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरूलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने बताइएको छ।
यस्तै रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल पनि हुनेछ।
मेला आगामी कात्तिक १७ गतेदेखि २० गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुनेछ। उक्त मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहने छ।
सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट प्रस्तुती दिने आयोजकले जनाएको छ।
मेलामा आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरूसँग सम्पर्क तथा छलफल गर्न सकिने छ।
तीन दिने उक्त मेलामा २०० भन्दा बढी कम्पनीहरू सहभागि हुने आयोजकको अपेक्षा छ।
कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरू, सेवा तथा उत्पादनमुलक उद्योगहरू, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरूसमेत गरी ५० हजारभन्दा बढी व्यक्तिहरूले मेलाको अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले बताएको छ।