श्रम अदालतमा आबश्यक कर्मचारी अभाव रहेको अदालतले बताएको छ। हाल १० जना कर्मचारीको पद रिक्त रहेको अदालतकी शाखा अधिकृत रत्ना घिमिरेले जानकारी दिइन्।
उनका अनुसार शाखा अधिकृत/इजलास अधिकृतमा चार जनाको दरबन्दी रहेकोमा हाल दुई जना मात्र पदपूर्ति भएको छ। दुई पद रिक्त छ। त्यस्तै नासुको सात जनाको दरबन्दी रहेकोमा हाल ४ जना मात्रै पदपूर्ति भएको छ। तीन जनाको पद रिक्त छ।
त्यस्तै, नासु निजी सहायक एक जना दरबन्दी रहेकोमा पदपूर्ति हुन सकेको छैन। सूचना प्रविधि सहायक र पुस्तकालय सहायकमा पनि एक-एक जना दरबन्दी रहेकोमा रिक्त छ। तामेलदारको दुई जनाको दरबन्दी रहेकोमा दुवै रिक्त छ।
अदालतले भौतिक संरचनासमेत उपयुक्त नभएको बताएको छ। ‘कार्यालय भाडाको घरमा सञ्चालन गरिरहेका छौं। यसमा पनि कोठाको अभाव छ। अँध्यारा साँघुरा कोठाहरु छन्। यहाँ बसेर सेवा दिन सहज छैन,’ शाखा अधिकृत घिमिरेले भनिन्।
उनले ठेल्दासमेत नचल्ने थोत्रे गाडी भएको बताइन्। ती गाडी पार्किङ गर्ने स्थल पनि नभएको गुनासो अदालतको छ। ‘माननिय सदस्य श्रीमानको गाडी निकै पुरानो छ। आबश्यक पर्ने आधारभूत सवारी साधन पनि पर्याप्त छैनन्,’ उनले भनिन्।
अदालतका स्रेस्तेदार लालसिहं थापाले आफूहरुले यो विषयमा सम्बन्धित निकायलाई पटक-पटक जानकारी गराउँदा पनि सुनुवाई नभएको बताए। ‘मुद्धाको संख्या बढ्दै गएको छ। तर मुद्धा हेर्ने जनशक्ति अभाव छ,’ उनले भने,‘ भौतिक संरचना पनि अभाव छ। उच्च अदालत पाटन नजिकै भवन सार्ने कुरा भइरहेको छ तर मिलेको छैन।
सरकारले श्रमजिवीको मुद्धा हेर्ने अदालतलाई प्राथमितामा नराखेको गुनासो उनले गरे। अदालतका अध्यक्ष बासुदेव आचार्यले आबश्यक दक्ष मेलमिलाप कर्ताको रोस्टर नै नभएको बताए। बजेट अभावका कारण ल्याउन पनि नसकेको उनले बताए।