तुलसीपुरमा स्यानिटाइजर बनाउने तालिम बुधबारबाट सुरु भएको छ।
यूएसएआइडीको सहयोग र तुलसीपुर उद्योग वाणिज्य संघको कार्यान्वयमा दुई दिने स्यानिटाइजर उत्पादनसम्वन्धी तालिम सुरु भएको छ।
कोभिड –१९ विरुद्ध द्रुत प्रतिकार्यका लागि यूएसआइडी र वाणिज्य संघको साझेदारीमा सुरु भएको तालिममा ५० जना भोलेन्टियरको सहभागिता छ।
बुधबार २५ जना र बिहीबार २५ जनाले स्यानिटाइजर उत्पादनबारे स्वास्थ्यकर्मीबाट तालिम लिने छन्।
तालिममा तुलसीपुर नगर जेसिजबाट १० जना, रोटरी र रोट्रयाक्ट क्लवबाट १० जना, महिला उद्यमी समूहबाट १२ जना, रेडक्रसबाट २ जना तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बाट ५ जना र वडा नं. ६ बाट पनि ६ जना सहभागी छन्।
तालिमपछि उनीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप १ हजार २ सय ५० लिटर स्यानिटाइजर उत्पादन गर्नेछन्।
त्यसरी उत्पादित स्यानिटाइजर तुलसीपुर उपमहानगरपालिकाले निर्धारण गरेबमोजिम दुई महिनाको अवधिमा १९ वटै वडाहरुमा वितरण गर्ने परियोजनाका टिम लिडर विनिल केसीले जानकारी दिए।
उत्पादित स्यानिटाइजरमध्ये केही भने स्वास्थ्यकर्मीलाई निशुल्क उपलब्ध गराइने तुलसीपुर उद्योग वाणिज्य संघका सचिव समेत रहेका केसीले जानकारी दिए। यूएसआइडीको तयार नेपाल विपद जोखिम व्यवस्थापन कार्यक्रम अन्तर्गत सुरु भएको कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघको पाँच प्रतिशत लगानी रहेको केसीले बताए।
कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुर वडा नं. ६ का अध्यक्ष तथा तुलसीपुरका विपद व्यवस्थापन तथा वातावरण शाखाका संयोजक नवराज लामिछानेले विपदको घडीलाई सबैले मिलेर सामना गर्नुपर्ने बताए।
यूएसआइडीले तुलसीपुर उद्योग वाणिज्य संघमार्फत कोरोना विरुद्धको लगडाईमा हातेमालो गर्नु तुलसीपुरबासीका लागि एउटा सुखद क्षण भएको उनले बताए।
तुलसीपुर वडा नं. ५ का वडा अध्यक्ष वीरेन्द्रकुमार शाहले लकडाउनको समयमा तुलसीपुरमा आउने भोका यात्रुलाई गाँस, बास र यातायातको प्रवन्ध गर्ने नेतृत्व लिने तुलसीपुर उद्योग वाणिज्य संघ र यूएसआइडीको संयुक्त प्रयासले कोरोना विरुद्धको लडाई जित्न सहज हुने आशा व्यक्त गरे।
कार्यक्रममा वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले यूएसआइडीले तुलसीपुर उद्योग वाणिज्य संघसँग कोरोना विरुद्धको लडाईका लागि हात अगाडि बढाएपछि कोरोना विरुद्धको लडाइ लड्न थप आत्मविश्वास थपिएको बताए।
वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा, महासचिव रुपबहादुर खत्री,सचिव विनिल केसी लगायतले सम्बोधन गरेका थिए।