विदामा आएकाहरुलाई नेपाल सरकारले दक्षिण कोरिया फर्किन दिने भएको छ।
वैशाख १४ गते बसेको मन्त्रिस्तरीय बैठकको निणर्यअनुसार सरकारले उनीहरुलाई दक्षिण कोरिया फर्किन व्यवस्थापन मिलाएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए।
व्यवस्थापनको जिम्मा वैदेशिक रोजगार विभागलाई दिइएको उनले बताए।
श्रमिकलाई कोरिया फर्काउने प्रारम्भिक तयारी सुरु भइसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार प्रसाद दाहालले जानकारी दिए।
‘करिव २ सय ६६ जना बिदामा आएका छन् भन्ने अनौपचारिक जानकारी आएको छ। स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर उहाँहरुको र्यापिड टेस्ट गरेर मात्र पठाउँछौ,’ दाहालले सेतोपाटीसँग भने।
उनीहरुलाई आफ्नै खर्चमा कोरिया फर्काइने उनले स्पष्ट पारे। खर्च तथा जहाजको टुंगो नलागेको उनले जानकारी दिए।
दक्षिण कोरियाको ह्युम्यान रिसोर्स डिपार्टमेन्टसँग कुरा भइरहेको र त्याहाँ पुगिसकेपछि नेपाली श्रमिक अनिवार्य १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने दाहालले जानकारी दिए।