वैदेशिक रोजगारीको लागि श्रम स्वीकृतिका लागि अनलाइनबाटै बीमा गर्न मिल्ने भएको छ।
श्रम स्वीकृतिका लागि अनलाइनबाटै बीमा गर्न सन नेपाल लाइफ इन्स्योरेन्स र वैदेशिक रोजगार विभागबीच सम्झौता भएको हो।
अबको एक हप्ताभित्र यो सेवा प्रारम्भ हुने र सेवा प्रारम्भ भएपछि वैदेशिक रोजगार कार्यालय आसपास बिमा कार्यालय धाउनुपर्ने बाध्यता हट्ने बताइएको छ।
यसरी जारी भएको बीमाको जानकारी सोझै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गराउनुपर्ने सम्झौता भएको वैदेशिक रोजगार विभागका महानिर्देशक भिष्मकुमार भुषालले बताए।
बीमा कम्पनीको जुनसुकै शाखाले बीमा पोलिसी जारी गर्नसक्ने सम्झौतामा उल्लेख छ। उक्त सेवा वापत बीमा कम्पनीले सेवाग्राहीबाट कुनै थप शूल्क लिन पाउने छैन।
वैदेशिक रोजगारीमा गएको व्यक्तिले आफू कार्यरत देश वा उक्त देश हेर्ने नेपाली कूटनैतिक नियोगबाट पुनः श्रम स्वीकृति लिने व्यवस्था गर्ने वित्तिकै बीमा पोलिसी अनलाइन नवीकरण गर्नसक्ने व्यवस्था मिलाउनुपर्ने समेत सम्झौतामा उल्लेख छ।
त्यस्तै बीमा गर्ने व्यक्तिले आफूले तिरेको प्रिमियमको रकम अनलाइनबाटै हेर्नसक्ने व्यवस्था मिलाइने छ।