मलेसियाले ३१ हजार २ सय एक नेपाली कामदारको माग गरेको छ।
लामो सयम रोकिएर दुई महिनाअघि खुल्ला भएको मलेसियामा रोजगारीको लागि ठूलो संख्यामा कामदरको माग भएको हो।
मलेसियन दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिमा असोज तेस्रो सातादेखि मध्ये मंसिरसम्ममा उक्त संख्यामा कामदार माग भएको उल्लेख छ।
मलेसियाबाट औद्योगिक क्षेत्रमा १७ हजार १ सय १६, सेवा क्षेत्र (सुरक्षा गार्डसहित) मा १० हजार १ सय ८३, कृषि क्षेत्रमा एक हजार ४ सय ७५, ‘प्लान्टेसन’ मा एक हजार ३ सय ९७ र निर्माण क्षेत्रमा एक हजार ३० श्रमिकको माग भएको छ।
नेपाल सरकार र मलेसिया सरकारबिच सन् २०१८ मा सम्पन्न कामदारको नियुक्ति, रोजगारी तथा घर फिर्ती सम्बन्धी समझदारी पत्र कार्यान्वयनमा आएपछि वैदेशिक रोजगार ऐन,२०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा वैदेशिक रोजगार सम्बन्धी माग पत्र जाँचबुझ निर्देशिका, २०७५ र नेपाल सरकार र मलेसिया सरकारवबीच भएको समझदारी पत्रअनुसार कामदारको संख्या स्वीकृत गरिएको हो।