वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका ७ जनालाई सरकारले सम्मान गरेको छ। विदेशबाट फर्केर उद्यम गरेकामध्येबाट छनौटमा परेकालाई आज श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सम्मान गरे।
दुबईबाट फर्केर कान्तिपूर पोल्ट्री व्रिडिड फर्म संचालन गरेका नवराज पौड्याल उत्कृष्ट राष्ट्रिय उद्यमी घोषित भए। पोल्ट्रीमा ४८ जनालाई रोजगारी दिएका उनले एक लाख रुपैयाँ पुरस्कार राशी हात पार्न सफल भए। उनकाे कम्पनीले गत वर्ष सबै खर्च कटाएर ७० लाख रुपैयाँ नाफा गरेको थियो।
त्यस्तै वैदेशिक रोजगारीबाट फर्केर उद्यम गरिरहेका दिपक चापागाई, निरबहादुर राउत, एक बहादुर सिङ्ताङ, मनोज कुमार भारती, शर्मिला अधिकारी र त्रिलोक पनेरुले उद्यमी राष्ट्रिय पुरस्कार पाए। उनीहरुलाई पचास– पचास हजार नगद राशी प्रदान गरिएको छ।
वैदेशिक रोजगारमा आर्जन गरेको पूँजी र अनुभवलाई मुलुकमै परिचालन गरी आर्थिक विकासमा टेवा पुर्याउनेगरी उनीहरु स्वदेश फर्केका थिए।
उद्यमशिलताले मात्रै वैदेशिक रोजगारीको परनिभर्रतालाई हटाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताए। ‘खाडी जाने श्रमिकको कमाई औसत २० हजार मात्र देखिन्छ, नेपालमै उद्यम गर्यो भने त्यो भन्दा धेरै कमाउन सकिन्छ,’ मन्त्री विष्टले भने।
मुलुकको कूल ग्रार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको महत्वपूर्ण हिस्सा रहेको बताउँदै उनले भने ‘अन्तर्राष्ट्रिय श्रम बजारमा योग्य श्रमिक आपूर्ति गर्ने मुलुकमा नेपाल पर्दछ। नेपाली श्रमिकको हक, हित तथा अधिकारका लागि सरकारले अडान राख्दछ।’
मन्त्रालयले उनीहरुको कम्पनीको लगानी, उपलब्ध गराएको रोजगारीको वास्तविकता, सरकारलाई नियमित तिर्ने करलगायत ११ विषयलाई आधार बनाएर वैदेशिक रोजगार महाशाखा प्रमुख उमेश ढुङ्गानाको संयोजकत्वमा पुरस्कार छनोट समिति गठन गरेको थियो।
वैदेशिक रोजगारबाट फर्केकालाई नेपालमै उद्यमी हुनका लागि हौसला दिने उद्देश्यले यस्तो पुरस्कार प्रदान गरिएको हो।