आगामी साउनदेखि सामाजिक सुरक्षा कोषमा रकम संकलनको काम सुरु हुने भएको छ। कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले अहिले सामाजिक सुरक्षा कोषमा सूचिकृत गर्ने काम भइरहेको र साउनदेखि कोष संकलनको काम सुरु हुने जानकारी दिए।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सामाजिक सुरक्षा कोषमा सूचिकृतहरुको संख्या भने उत्साहजनक नभएको स्पष्ट पारे। हालसम्म व्यक्तिगत रुपमा ३ हजार ४ सय र संस्थागत रुपमा १५ हजार रोजगार दाताहरुले मात्रै सो कोषमा आफ्नो नाम दर्ता गराएका छन। कार्यकारी निर्देशक अधिकारीले सुसूचित गर्ने काममा कमी भएका कारण पनि सूचिकृत हुनेको संख्यामा उल्लेख्य वृद्धि हुन नसकेको बताए।
श्रमिकहरुलाई समेत सेवा अवकाश पछि पेन्सन दिने योजनासहित सरकारले घोषणा गरेको सो कार्यक्रम उपयोगी रहेको अधिवक्ता गान्धी पण्डितले बताए। उनले सो कोषले सेवा अवकाश पछि दिने उपचार खर्च लगायतको सुविधा गरिव समूदायको हितमा रहेको स्पष्ट पारे।
सामाजिक सुरक्षा कोषमा सूचिकृत हुनेको संख्या हाललाई उत्साहजनक नरहे पनि त्यसप्रति आकर्षण विस्तारै बढदै जाने कार्यकारी निर्देशक अधिकारीको भनाइ छ।