वैदेशिक रोजगारीमा गएका नेपाली करार अवधिभित्र विरामी भई स्वदेश फर्किएरका बेला र विदामा स्वदेश फर्किएका बेलो उपचारको क्रममा मृत्यु भएमा सरकारबाट आर्थिक सहायता पाउने भएका छन्।
आइतवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको अध्यक्षतामा सम्पन्न वैदेशिक रोजगार बोर्ड सचिवालयको बैठकले यस्ता ११४ जना कामदारका परिवारलाई नियमानुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
सचिवालयले दर्ता भएका निवेदनहरु र संलग्न कागजातहरुको छानविन गरी बोर्ड बैठकमा निर्णयार्थ पेश गरेको थियो। यस्ता ११४ जनालाई आर्थिक सहायता प्रदान गर्न बोर्ड सचिवालयले थप ६ करोड ६६ लाख व्यवस्था गरेको छ।
बैठकमा राष्ट्रिय योजना आयोगका डा. रामकुमार फुयाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दहालका साथै बोर्ड सदस्यहरुको सकृय सहभागिता रहेको थियो।