सरकारले असार १५ र १६ गते ‘श्रम तथा रोजगार सम्मेलन’ गर्ने भएको छ। श्रम तथा रोजगारको क्षेत्रमा काम गरिरहेका विज्ञ सहितको सहभागिता हुने सम्मेलनमा रोजगारीको संभावना तथा अवसर खोजीका सम्वन्धमा कार्यपत्र प्रस्तुत हुनेछ। १५ जना विज्ञले प्रस्तुत गर्ने कार्यपत्रमा सरोकारवालाहरुबीच छलफल हुनेछ।
श्रम तथा रोजगारीको क्षेत्रसँग सम्बन्धित ३ सय सरोकारवाला प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाउने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयले यसलाई श्रम समस्या समाधान र नीतिगत सुधारको लागि प्रज्ञिक वहस भनेको छ।
थप रोजगारी सृजना गर्नका लागि सूचना प्रविधिको क्षेत्रलाई उपयोग गर्दै सरकारले गर्नुपर्ने नीतिगत पहलका सम्वन्धमा सम्मेलनमा छलफल हुने मन्त्रालयका सहसचिव प्रकाश दाहालले जानकारी दिए। ‘रोजगारीका लागि उपयुक्त क्षेत्रहरु पत्ता लगाउने, अहिलेका सरकारी नीतिमा भएका अफ्ठेरा पक्षलाई केलाउँदै सरलीकृत गर्नेतर्फ सम्मेलन केन्द्रित हुन्छ’ उनले भने। नेपालको श्रम बजारमा विदेशी कामदारको संख्या उल्लेख्य भए पनि नेपालीले प्रतिस्थापन गर्न नसक्नुका कारणहरुबारे पनि सम्मेलनमा छलफल हुने उनले बताए।
श्रम बजारमा सिपको माग र जनशक्ति आपुर्तिको अन्तरलाई घटाउनेगरी सम्मेलनले उचित निश्कर्ष निकाल्ने दाहालले बताए। सम्मेलन पछि प्रप्त हुने प्रतिवेदनको आधारमा थप रोजगारी सृजनाका लागि नीतिगत सुधार हुने दाहालले बताए ।