काठमाडौंको पाँचतारे होटल हायातले आफ्ना मजदुरमाथि कारबाही गरेको छ।
गएको साता सेवा सुविधाको माग राखेर आन्दोलन गरेका मजदुर नेतालाई व्यवस्थापनले कारवाही गरेको हो।
आन्दोलन उक्काउन भुमिका खेलेको भन्दै होटल व्यवस्थापनले नेतृत्वमा रहेकामध्ये तीन जनालाई निलम्बन गरेको छ।
होटल व्यवस्थापनले होटलकोआधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहाल, नेपाल स्वतन्त्र होटल मजदुर युनियनका अध्यक्ष हेमबहादुर पण्डित, संघका कोषाध्यक्ष पुष्कर पोखरेललाई निलम्बन गरेको हो।
ट्रेड युनियनमा आबद्ध विजयकुमार खत्री, शालिकराम सापकोटा, रमेश अधिकारी, शिवराम पुडासैनी, दुर्गा महत र रबेलसम्बा लामालाई सात दिने स्पष्टिकरण सोधेको आधिकारिक ट्रेड युनियनका अध्यक्ष मुक्ति दाहालले बताए।
गत साता होटलमा कार्यरत मजदुरले सम्मानजनक काम गर्ने वातावरण, सेवा सुविधाको निरन्तरताको माग गर्दै आन्दोलन गरेका थिए। त्यहीबेला व्यवस्थापनले होटल बन्द गरेको थियो।
श्रम कार्यालयको पहलमा वार्ताबाटै समस्या समाधान गरी तत्काल काममा फर्कन भनेपछि मजदुरहरु फर्किएका थिए। 'हामीले वार्ताबाट हाम्रा माग पूरा हुने आशमा काम शुरु गरेका थियौं तर व्यवस्थापनले उल्टै काराबही गर्यो, मजदुरको सेवा सुविधा तत्काल दिइयोस्। काम गर्ने वातावरण बनाइयोस। नत्र यसको जिम्मेवार हामी हुन्नौं,’ अध्यक्ष दाहालले सेतोपाटीसँग भने।
होटलमा रहेको सरकारी जग्गा र सेयर स्वामित्वको विषयलाई लिएर लामो समयदेखि विवाद छ। संसदका समिति र अख्तियारले यसमा अध्ययन गरिरहेका छन्। मजदुर आन्दोलको वातावरण सिर्जना गरेर सरकारी छानविन प्रभावित बनाउने होटल व्यवस्थापनको खेल हुनसक्ने मजदुरहरुले नै शंका गरेका छन्।