काठमाडौंको पाँचतारे होटल हायातमा कार्यरत मजदुरहरु आन्दोलनमा उत्रिएका छन्। सेवा सुविधा र सम्ममानपूर्वक काम गर्ने वातावरणको माग गर्दै मजदुरहरु आजदेखि हडतालमा उत्रिएको आधिकारीक ट्रेड युनियनका अध्यक्ष मुक्ती दाहलले जानकारी दिए।
विगतदेखि पाउँदै आएका सेवा सुविधा पछिल्लो समय व्यवस्थापनले खोसेको, काम गर्दा अपमानित गरेका कारण आन्दालित भएको उनले बताए।
विगतमा पाएको विदाको सुविधा काटिएको,सामुहिक सौदावाजीको व्यवस्थाअनुसार गरिनुपर्ने सेवा सुविधा बृद्धिको कुरा आधिकारीक ट्रेड युनियनले माग राख्दा पनि बेवास्ता गरेकाले आजदेखि युनियनमा आवद्ध मजदुरहरु काम छोडेर हड्तालमा उत्रिएको दाहालले जानकारी दिए।
उनकाअनुसार आज व्यवस्थापनका कर्मचारी,क्याजुअल र ट्रेनीहरुलेमात्र काम गरिरहेका छन्। भोलिसम्म माग पूरा नगरे क्याजुअल र ट्रेनीले पनि काम ठप्प पार्ने उनले चेतावनी दिए।
पछिल्लो समय व्यवस्थापनमा आएका चारजना भारतीयहरुले नेपाली श्रमिक तथा कर्मचारीमाथि दुर्व्यवाहर गरेको उनको आरोप छ।
होटलका जनसम्पर्क निर्देशक गोविन्दराम परियार भने युनियनले गैरकानुनी हड्ताल गरेका बताउछन्। सामुहिक सौदाबाजीअनुसार पहिले नै निर्धारण भएका र सम्झौतामा उल्लेख भएका सेवा सुविधा व्यवस्थापनले पूरा गर्दै आएकोमा अरु नै कारणले उनीहरुले हड्ताल गरेको उनको आरोप छ।
व्यवस्थापनमा केही फेरवदल भएपछि काममा अनुशासन कायम गर्न खोज्दा त्यसको वदला लिन मजदुर उचालेर केही मान्छेले हड्ताल गरेको उनले आरोप लगाए।