गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले ९० जना व्यक्तिलाई रोजगार दिएको छ।
नगरपालिकाले गाउँमै वेरोजगार भएका युवाहरूलाई रोजगार दिने भन्दै ९० जनालाई सडक मजदूरको रूपमा रोजगार दिएको हो।
नगरभित्रका सडकहरूलाई बाह्रै महिना सञ्चालन गर्ने र नागरिकहरूको जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले ९० जना लेन्थवर्करहरूलाई नियुक्ति गरिएको मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।
नगरपालिकाले नियुक्त गरेका लेन्थ वर्करहरूलाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नियुक्ति पत्र र सामग्री वितरण गरेका हुन्।
नगरपालिकाले ९० जनालाई गाउँमै रोजगारी प्रदान गरेकोमा खुसी व्यक्त गर्दै मन्त्री विष्टले नगरपालिकाले धेरै राम्रो काम गरेको बताए। ‘नगरपालिकाले करिब १ सय जनालाई नगरपालिकाभित्रै रोजगार दिएर उदाहरणीय कार्य गरेको छ,’ मन्त्री विष्टले भने।
उनले अबको केही समयमा प्रत्येक स्थानीय तहमा चार सय युवाहरूलाई कुनै न कुनै रोजगारी सृजना गर्ने बताए।
‘सरकार पनि युवाहरूलाई स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्ने र दक्ष जनशक्तिलाई विदेश पलायनबाट रोक्ने अभियानमा छ,’ उनले भने।
मन्त्री विष्टले सरकारले स्थानीय सम्भावनाका आधारमा गाउँमै रोजगार सृजना गर्न खोजिरहेको बताए।
नगरपालिकाले लेन्थ वर्कर व्यवस्थापन कार्यविधि २०७५ निर्माण गरी युवाहरूलाई रोजगारी दिएको नगरपालिकाका प्रवक्ता प्रकाश काफ्लेले बताए। कार्यविधिको आधारमा लेन्थ वर्कर व्यवस्थापन समितिले उनीहरूको परिचालन गर्ने छ।
लेन्थ वर्करको लागि प्रतिव्यक्ति मासिक १३ हजार चार सय ५० पारिश्रमिक तोकिएको छ। उनीहरूले वर्षैभरी मोटरबाटो खन्ने, झाडी सरसफाई गर्ने, साना पहिराहरू पन्छ्याउने, नाली खन्ने र साना गाडी समेत हिँड्न मिल्ने बनाउनुपर्ने छ।
प्रत्येक वडाबाट १० जनाको दरले नगरपालिकाका नौ वडाबाट गरी ९० जना लेन्थ वर्कर भए पनि सडकको दूरीको आधारमा खटाइने निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए।
प्रत्येक समूहमा लिडर चयन गर्ने, ओभरसियरले काम र समय तोक्ने र अनुगमन गर्नुको साथै थप काम गरे प्रोत्साहन र काम पूरा नभए पारिश्रमिक कटौती समेत गरिने भण्डारीले बताए ।
नियुक्त गरिएका लेन्थ वर्कर अधिकांश दलित र त्यसमा ५० प्रतिशत महिला रहेको लेन्थ वर्कर व्यवस्थापन समितिले जनाएको छ। नगरपालिकाले खुलाएको आवेदनमा एक सय १० जनाले फारम भरे पनि ९० जना उतीर्ण भएको र १० जना वैकल्पिकमा राखिएको नगरपालिकाले जनाएको छ।
उनीहरूलाई केही दिनमै सेवा, सर्त र अन्य सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षणपछि काममा लगाइने नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए।
उनले सडक सफा गर्दा डोजरभन्दा लेन्थ वर्कर महँगो भए पनि ९० जनालाई रोजगार सृजना भएको बताए ।