श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागु गर्न लागेको सामाजिक सुरक्षा कोषमा ६०६ वटा संस्था सुचीकृत भएका छन् ।
सुचीकृत भएका मध्ये २ सय ७२ वटालाई सोमबार श्रम मन्त्री गोर्कण विष्टले एक कार्यक्रमकाबीच प्रमाणपत्र प्रदान गरे। सुचीकृत भएका मध्ये छानेर २ सय ७२ वटालाई प्रमाणपत्र दिएको र बाँकीलाई पनि चाँडै दिइने मन्त्री विष्टले बताए।
उनले सामाजिक सुरक्षा कोषमा सुचीकृत हुन अन्य संस्थाहरु पनि ढिलो चाँडो आउनेमा विश्वस्त रहेको बताए। सरकारले ल्याएको योजनामा साथ दिएका संस्थाहरुलाई उनले धन्यवाद पनि दिए। सरकारले आगामी साउन १ गतेबाट सामाजिक सुरक्षा कोष लागु गर्ने घोषणा गरिसकेको छ।
सामाजिक सुरक्षा योजना भनेको सामाजिक सुरक्षा कोष अन्तर्गत संचालन हुने एउटा कार्यक्रम हो । सामाजिक सुरक्षा कोष भनेको सञ्चय कोष जस्तै एउटा छुट्टै कोष हो । यो कोषमा औपचारीक तथा अनौपचारीक क्षेत्रमा आफ्नो श्रम बेचिरहेका श्रमिकहरु आवद्ध हुन्छन् ।
यस कोषमा काम गर्ने श्रमिक र काम दिने रोजगार दाताले हरेक महिना आफ्नो खातामा रकम जम्मा गर्छन । उक्त खातामा श्रमिकले आफ्नो मासिक आम्दानीको २० प्रतिशत रकम यस कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।