आम्दानीको राम्रो सम्भावना हुँदाहुँदै ‘घरेलु श्रमिक’ लाई समाजले सम्मान गर्दैन। त्यही काममा विदेश जानेलाई राम्रो मान्ने भए पनि स्वदेशमा ‘अरुको घरमा काम गर्ने’ लाई सानो काम वा तल्लो तहको कामका रुपमा लिएको श्रमिकको गुनासो छ।
छोराछोरी पाल्न अरु कुनै काम नपाएपछि सीता खत्रीले दुई दशक पहिले एउटा घरको घरायसी काम गर्न थालीयो। श्रीमान्ले अर्को विवाह गरेपछि उनको काँधमा सन्तानको पालनपोषण र पढाउनुपर्ने जिम्मेवारी आइलाग्यो । के काम गर्ने कामको खोजीमा धेरै भौतारिनुभयो तर केही काम पाएनन।
“काठमाडौँमा पढेका मान्छेले त काम पाउँदैनन्, हामी नपढेकाले के काम पाउनु छ र ?”, उनले भने, “जुन घरमा बस्थेँ त्यहीँ घरका घरबेटीको घरमा खाना पकाएपछि भाडा तिर्न परेन र त्यहीबाट काम शुरु गरेँ।”
त्यतिबेला र अहिले घरेलु श्रमिकको अवस्थामा धेरै परिवर्तन आएको छ। पहिले धेरै काम गर्दा थोरै पारिश्रमिक थियो । अहिले खटिएर काम गर्न सक्नेले राम्रो कमाउने अवसर छ । काम शुरु गरेको लामो समयसम्म उनले १० हजार रुपैयाँ सम्म कमाउनै मुस्किल थियो । अहिले भने उनी मासिक २०÷२५ हजारसम्म कमाउँछन्। उनले भने, “बिहान घरमै बस्छु, बिहानदेखि काम गरे अझै धेरै कमाइन्छ ।”
काठमाडौँ उपत्यकामा कामकाजी महिलाको सङ्ख्या बढ्दै जाँदा घरेलु श्रमिकको आवश्यकता बढ्दो छ । अरु कामको अवसर नपाउँदा धेरैले अन्तिम उपायका रुपमा घरेलु श्रमलाई लिएका थिए । केही वर्षयता भने पारिश्रमिक बढ्दै जाँदा यो पेशा आकर्षक बन्दै छ ।
अशिक्षित मात्रै होइन ११, १२ र स्नातक अध्ययनरतले पढाइसँगै घरेलु श्रमिकका रुपमा काम गरिरहेका छन् । यो काम गरेरै मासिक ३० हजार रुपैयाँ सम्म कमाउने पनि छन्।
घरेलु श्रमिक एक दशक पहिलेसम्म यो काममा पारिश्रमिक कम भएको गुनासो गर्थे । समयको परिवर्तनसँगै अहिले भने पारिश्रमिकभन्दा पनि उनीहरुको जोड कामप्रतिको सम्मानमा छ । यो कामलाई समाजले सानो काम मानेको उनीहरुको गुनासो छ । विदेशमा घरेलु श्रम नै गर्दा राम्रो मानिए पनि समाज र परिवारले स्वदेशमा घरेलु श्रमिकका रुपमा काम गर्दा भने अझै सम्मानजनक पेशाका रुपमा स्वीकार्न सकेको पाइदैन।
बसुन्धारा क्षेत्रका घरमा काम गर्दै आउनुभएकी मनिषा पुरीेले एक दशकदेखि यही कामले परिवार चलाउनुभएको छ । छोरालाई राम्रो विद्यालय, कलेज र अहिले वैदेशिक अध्ययनमा समेत पठाएको छन्।
आफन्त र गाउँका कतिपय महिलाको सिको गरेर उनी पनि कतार जानका लागि एक दशक पहिले काठमाडौँ आएका थिए। यहाँ आएपछि तयारीमा लागिरहँदा सञ्चार माध्यममा खाडी देशमा नेपालीले दुःख पाएको समाचार सुने। उनले भने, “त्यसैले यहीँ एउटा घरमा काम थालेँ, अहिले तीन वटा घरमा काम गर्छु ।”
विदेश जाने तयारी गरिरहेका वा वैदेशिक रोजगारीबाट फर्किएकालाई मनिषा स्वदेशमै काम गर्न सल्लाह दिन्छन्। विदेशमा जसरी १८ घण्टा खटिँदा यहाँ पनि राम्रो कमाउन सकिन्छ ।
विदेशमा घरेलु श्रममा जाने महिला पनि आफ्नो देशमा घरेलु श्रमिकका रुपमा काम गर्न नचाहने बताए। तीनलाई विदेशीका लागि खाना पकाउने र विदेशीका बुबाआमा र सन्तान हेर्नुभन्दा नेपालीकै लागि काम गर्न भन्छन्।
स्वदेशमा नै काम गर्दा विदेशमा जस्तो परिवार छाड्न नपर्ने हुँदा यो काम राम्रो भएको उनको भनाइ थियो । उनले भने, “खटिएर काम गर्दा पारिश्रमिक पनि नराम्रो छैन र घर परिवार छाड्नु पनि पर्दैन ।”
काठमाडौँ उपत्यका बाहिरबाट अध्ययनका लागि काठमाडौँ आएका कतिपय विद्यार्थी बिहान पढ्ने, दिउँसो र साँझ काम गर्ने गर्छन् । उनीहरुलाई औपचारिक क्षेत्रमा काम पाउँदा पनि कार्यालयमा धेरै समय दिनुपर्ने भन्दै यो काम छाड्न चाहँदैनन्। धेरैले ‘सानो काम’ का रुपमा लिँदा युवापुस्ता खुलेर र गर्वका साथ ‘म यो काम गर्छु’ भन्ने गर्दैनन्।