श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मलेसियासँग श्रम क्षेत्रको सहकार्य अझ मजबुत भई दुवै देशबीचको सम्बन्धलाई दीर्घकालीन मित्रतामा परिणत गर्ने विश्वास व्यक्त गरेका छन्।
मंगलबार जेनेभामा श्रम भण्डारी र मलेसियाका लागि मानव संशाधन मन्त्री स्टिभन सिम ची किओङबीच द्विपक्षीय भेटवार्ता भएको थियो।
भेटका क्रममा नेपाली श्रमिकलाई रोजगारको अवसर दिएकोमा मलेसिया सरकारलाई धन्यबाद दिए।
मन्त्री भण्डारीले छलफलका क्रममा मलेसियामा कार्यरत ठूलो संख्यामा नेपाली कामदारहरूले दुबै देशको आर्थिक समृद्धिमा योगदान पुर्याएको बताए।
उनले द्विपक्षीय सम्झौताको विषय उठाउँदै सन् २०१९ अक्टोबर २९ मा हस्ताक्षर गरिएको श्रम सम्झौताको अवधि सकिएकाले नवीकरणका लागि प्रस्ताव गरे।
'दुबै देशका सम्बन्धित मन्त्रालयहरूले नयाँ सम्झौताको प्रारम्भिक मस्यौदा आदानप्रदान गरिसकेको छ, मलेसियाली मानव संशाधन मन्त्रालयद्वारा नयाँ मस्यौदाको अध्ययन भइरहेको छ, आशा गरौं मलेसिया सरकारको तर्फबाट छिट्टै टुंगो लाग्नेछ,' उनले भने।
छलफलका क्रममा श्रम, भण्डारीले आप्रवासी श्रमिकहरूका लागि १७ सय मलेसियन रिंगिट न्यूनतम तलब तोकिएकोमा खुसी व्यक्त गरे।
उनले मलेसियाका मानव संशाधन मन्त्री किओङलाई मलेसियामा नेपाली श्रमिकहरूले भोग्दै आएका समस्याहरूको बारेमा संवेदनशील भएर समस्या समाधानका लागि आग्रह गरे।
मन्त्री भण्डारीले न्यूनतम तलब कार्यान्वयन नहुनु, विशेषगरी सुरक्षा क्षेत्रमा १२ घण्टा दैनिक, महिनाभरी बिदा नदिई काम लगाउने प्रचलन, फर्किने टिकट उपलब्ध नगराउने जस्ता समस्या रहेको उल्लेख गरे।
वर्क पर्मिट समयमै नवीकरण नहुँदा कामदार अवैध बन्ने र कारबाही भोग्न बाध्य हुने जस्ता समस्या दुःखद् भएको बताए।
श्रमिकहरूलाई अत्यधिक कामको चाप र विश्रामको अभाव समस्या संवेदनशील भएर समाधानका लागि आग्रह गरेको पनि उनले बताए।
मलेसिया नेपाली श्रमिकहरू धेरै जाने गन्तव्य मुलुक हो। तीन लाखभन्दा धेरै नेपालीहरू यहाँ कार्यरत रहेको अनुमान छ।