नेपाली निजी क्षेत्रले सामाजिक सुरक्षा कार्यक्रमलाई स्वागत गरेको छ। आजबाट सरकारले लागू गरेको योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रमबाट असल श्रम सम्बन्ध कायम हुने विश्वाससहित उद्योगी/व्यवसायीले यो कार्यक्रमलाई सघाउने प्रतिवद्धता पनि जनाएका छन्।
कार्यक्रमको औपचारिक शुभारम्भ गर्न काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रतिनिधिले यसबाट नेपालमा व्यवसायको वातावरण निर्माण हुने र उत्पादकत्व पनि बढ्दै जाने विश्वास व्यक्त गरेका छन्।
नेपाली निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का अध्यक्ष चन्द्र ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम औद्योगीक क्षेत्रका लागि ऐतिहासिक फड्को हुने बताए।
यो कार्यक्रमको पूर्ण लागू हुँदा श्रम सम्बन्धमा सकारात्मक प्रभाव पर्ने र त्यसको प्रत्यक्ष फाइदा उत्पादन र औद्योगिक क्षेत्रले लिने उनको विश्वास छ। कार्यक्रमबाट रोजगारदाता र श्रमिकको योगदानबाट कोष सिर्जना हुने र त्यसको जिम्मेवारी सरकारले लिने भएकोले यसबाट श्रमिक र रोजगारदाता दुबैलाई फाइदा पुग्ने उनले बताए।
सरकारले सञ्चालन गर्ने कोषमा अहिले पनि ठूलो मात्रामा रकम जम्मा भइसकेको र अब यसमा द्रुत गतिमा बढ्दै जाने र ठूलो कोषको व्यवस्थापन चुनौती रहेको उले बताए।
‘कोषमा अहिले पनि ठूलो रकम जम्मा भइसकेको छ, अब यो झन् बढ्ने छ यसको परिचालनबाट पूर्वाधारमा लगानी गर्न सकिने एकातिर अवसर छ भने त्यसको व्यवस्थापन चुनौतीका रूपमा रहेको छ,’ ढकालले भने।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले कार्यक्रमबाट असल श्रम सम्बन्धले प्रत्यक्ष वैदेशिक लगानी बढ्ने र यसबाट नेपालमा व्यवसायको वातावरण झनै राम्रो हुने बताए।
लगानी बढ्दै गएपछि रोजगारी पनि बढ्ने र जसबाट कोषको आकार झनै ठूलो हुँदै जाने र त्यसको व्यवस्थापनको चुनौती कायमै रहेको उनले बताए।
कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आजको दिन ऐतिहासिक दिन भएको बताए। यो कार्यक्रमको लागू भएबाट नेपाली नागरिकले काम गरेर सुरक्षित र गुणस्तरीय जीवनयापन गर्छन् र त्यहीअनुसार सुविधा पनि पाउछन् भन्ने ग्यारेन्टी भएको उनले बताए।
कार्यक्रम लागू गर्न नेपाली उद्योगीहरूले ठूलो त्याग गरेको र यसबाट उत्पादनको वृद्धि, उत्पादनको गुणस्तरप्रति श्रमिक उत्पादनको मात्रा बढ्ने उनको विश्वास छ। सुविधा दिएपछि त्यसबाट श्रमिकमा सन्तुष्टि बढ्ने त्यसपछि स्वतः उत्पादनमा सकारात्मक प्रभाव पर्ने उनको भनाइ छ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कार्यक्रमबाट औद्योगिक शान्ति, असल श्रम सम्बन्ध स्थापित भएको समाजिक रूपान्तरणको सुरूआत भएको बताइन्।
‘यो सामाजिक रूपान्तरणको दिन पनि हो। यो खुसीको दिन पनि हो। औद्योगिक शान्ति र सामाजिक न्यायका लागि सामाजिक सुरक्षाको कार्यक्रमले मुर्त रूप लिएको छ। योसँगै असल श्रम सम्बन्ध स्थापित हने हाम्रो विश्वास छ,’ राणाले भनिन्।
यो पनि पढ्नुस्: