युएइ जाने नेपाली कामदारमाथि ४ हजार ३ सय आर्थिक भार थपिएको छ।
यही फेब्रुअरी १८ बाट युएइ दुतावासले प्रहरी रिपोर्ट अनिवार्य प्रमाणिकरण गर्ने नाममा थप ४ हजार ३ सय आर्थिक भार थपिदिएको हो।
दुतावासले आर्थिक भार थपेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आपत्ति जनाएको छ।
'कामदारमाथि थप आर्थिक भार थपिदाँ श्रम मन्त्रालय मौन बस्नु रहस्यमय छ,' संघका अध्यक्ष रोहन गुरुङले सेतोपाटीसँग भने ।
प्रहरीबाट कामदारले रिपोर्ट लिइसकेपछि परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर विभाग त्रिपुरेश्वरबाट प्रमाणिकरण गरिसकेपछि सो प्रतिवेदन नेपालस्थित युएइ दुतावासले प्रमाणिकरण गर्नुपर्ने कारण र औचित्य के हो, संघले प्रश्न गरेको छ।
कामदारसँग अनावश्यक शुल्क नलिन संघले युएइ सरकारसँग आग्रह गरेको छ ।
मलेसिया जाने नेपाली कामदारहरुले पनि भिसा स्टाम्पिङवापत सम्बन्धित दुतावासमा ७ सय भुक्तान गरे हुनेमा भिएलएन,ओएससी, आइएसी, बायोमेट्रिक र माइग्राममा नाममा करिव १७ हजार तिर्नु परिरहेको छ। यस विषयमा पनि म्यानपावर व्यवसायीहरुले चर्को विरोध जनाउँदा पनि कुनै सुनुवाइ भएको छैन् ।