नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध परेको बताएका छन्।
उनले विकास अवरुद्ध हुँदा भावी पुस्ता समेत गरिबी र अभावको दुष्चक्रमा पर्ने बताए।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरे।
'नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्याउने सोच हटेको छैन। यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ,' उनले भने।
मुलुकमा विकास पूर्वाधार विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पुँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताए।
'हामीले चन्द्रागिरी केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो। तर, अहिले त्यो क्षेत्र समृद्ध छ। स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तव्य पाएको छ,' उनले भने।
ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको संभावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए। उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको बताए।
हालै नेपाल चीन कोरोला नाका पुगेर आएको प्रसंग उठाउँदै उनले म्याग्दीदेखि कोरोलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र समृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताए।
'म यो दसैं लगत्तै कोरोलासम्म पुगेर आए। कोरोला नाकादेखि सुनौली नाकासम्म पनि गाडिमै पुगेँ। बाटोको सुविधाले पहिलेभन्दा निकै सहज भइसकेको रहेछ। बाटोको स्तरोन्नति गर्दै कोरोला नाकामा केही पूर्वाधार विकास गर्न सके, यो नाका दुई मुलुकलाई जोड्ने छोटो र सहज नाका बन्न सक्छ। हाम्रो गण्डकी प्रदेशले पनि ठूलै फाइदा लिन सक्छ। यसमा प्रदेश सरकारले विशेष ध्यान दिओस्,' उनले भने।
आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै उनले वैदेशिक लगानी भित्र्याउन महासंघले पहल गरिरहेको बताए।
उनले प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्यांकन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गरे।
'हामीले आफ्नो कार्यकालमा कुन कुन नीति, नियमहरू परिवर्तन गरी लगानीमैत्री वातावरण बनाउने काम गर्यौं, कुन-कुन आयोजना सुरू गर्यौं वा कुन-कुन आयोजना सम्पन्न गर्यौं। त्यसले नै हाम्रो सफलता वा असफलताको संकेत गर्नेछ। त्यसैले हामीले नतिजा निकाल्ने गरी काम गर्न आवश्यक छ,' उनले भने।
मुलुकमा बढ्दै गएको नैराश्यतालाई चिर्न र विभिन्न सम्भावित आयोजनामा लगानी गर्न नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको बताउँदै यसले मुलुकको शिथिल अर्थतन्त्रलाई चलायमान गर्न सहयोग पुग्ने बताए।