उद्योग वाणिज्य तथा करार र देवानी विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने भएको छ।
विवाद समाधानमा संलग्न विभिन्न देशका संस्था, विषय विज्ञ तथा व्यवसायीहरूको सहभागितामा नेपालमा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न थालिएको हो।
मध्यस्थता र मेलमिलापका माध्यमबाट विवाद समाधानलाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न थालिएको आयोजक नेपाल इन्टरनेसनल एडिआर सेन्टरले जनाएको छ।
मंसिर २७ देखि ३० गतेसम्म सञ्चालन हुने सम्मेलनको नारा 'विवाद समाधानको आधुनिकीकरणः न्यायमा पहुँच अभिवृद्धिका लागि एडिआरको भूमिका' राखिएको छ।
सम्मेलनमा विश्वका करिब १६ देशका वक्ताहरूको सहभागिता रहने एडिआरका महासचिव वरिष्ठ अधिवक्ता मातृकाप्रसाद निरौलाले जानकारी दिए।
नेपालमा पहिलो पटक हुन लागेको सम्मेलनमा जापान, स्विजरल्याण्ड, अष्ट्रेलिया, हङकङ, मलेसिया, इन्डोनेसिया, सिंगापुर, भारत, पाकिस्तान, बंगलादेश, भुटान, श्रीलंकालगायतका देशका प्रतिनिधिको सहभागिता रहने जनाइएको छ।
कार्यक्रममा करार सम्बन्धी विवाद, विकास निर्माण सम्बन्धी, लगानी सम्बन्धी विवाद, संयुक्त राष्ट्र संघका मोडल कानुन सम्बन्धी व्यवस्था र मध्यस्थता एवम् मेलमिलाप सम्बन्धमा न्यायपालिकाको भूमिका लगायतका विषयमा छलफल हुने बताइको छ।
नेपाललाई विवाद समाधानको आकर्षक गन्तब्यका रुपमा विकास गराउने सम्मेलनको लक्ष्य रहेको छ।
'नेपाल मध्यस्थ अवार्ड कार्यान्वयन सम्बन्धी न्युयोर्क अभिसन्धिको पक्ष राष्ट्र हो तर त्यो भन्दा उपयोगी र आकर्षक मेलमिलाप सम्बन्धी सिंगापुर अभिसन्धि २०१८ को अनुमोदन गरेको छैन। सिंगापुर अभिसन्धिले मुलुकको हित मात्र गर्दछ, कुनै अहित गर्ने ठाँउ छैन। तथापी त्यसतर्फ सरकारको ध्यान पुग्न नसकेको अवस्थामा सम्बिन्धत पक्षलाई ध्यानाकर्षण गराउने काम सम्मेलनमार्फत हुन्छ,' निरौलाले भने।