पहिलोपटक लगानी सम्मेलनको तयारीमा जुटेको कोशी प्रदेश सरकारले त्यसका लागि विभिन्न समितिहरु गठन गरेको छ।
आगामी माघ ११, १२ र १३ गते कोशी प्रदेश लगानी सम्मेलन आयोजना हुँदैछ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्न सबै लागिपर्ने बताएका छन् ।
सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य महासंघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मुल आयोजक कमिटी बनाएको छ ।
यसमा प्रदेशका मन्त्रीहरु, निजी क्षेत्रका अगुवाहरु र संघसंस्थालाई समेटिएको छ । त्यस्तै दशैं अघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारी समेत भएको छ । कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ ।
प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीहरुले स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नु पर्ने र भारतीय उद्योगपतिहरुलाई आकर्षित गर्ने गरी योजना बनाउनुपर्ने र कानूनी जटिलतालाई छिटो र छरितो ढंगले निरुपण गर्नु पर्ने सुझाव दिएका छन् । कोशी प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा लगानी सम्मेलन गर्ने घोषणा गरेर तयारी सुरु गरेको हो।