नेपाल भेटेरिनरी एशोसिएसनले बाढी र पहिरोको चपेटामा परेका पशुपन्छीको उद्धार, राहत तथा उपचारका लागि जुट्न एशोसिएसनका सदस्यहरूलाई आग्रह गरेको छ।
असोज १० गतेबाट परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा प्राकृतिक विपदमा परी धेरै जनधनको क्षति भई जनजीवन प्रभावित परेको घटनामा एशोसिएसनले दुःख समेत व्यक्त गरेको छ।
विपदले जनसमुदायका साथै पशुपन्छीहरू पनि प्रभावित भएको हुँदा बाढी र पहिरोको चपेटामा परेका सम्पूर्ण पशुपन्छीको उद्धारमा एक जुट हुन एशसिएसनले अपिल गरेको हो।
यस्तै, एशोसिएसनले पशुपन्छीको क्षतिको विवरण संकलन गरी कृषकहरूलाई क्षतिपूर्तिको व्यवस्था गर्न तथा मरेका पशुपन्छीको उचित व्यवस्थापन गर्न र बास गुमाएका नागरिकहरुको पुनस्थापना गर्न नेपाल भेटेरिनरी एशोसिएसन नेपाल सरकारसँग हार्दिक अनुरोध गरेको बताएको छ।
त्यस्तै, विपदपश्चात मानिस तथा पशुपन्छीमा फैलन सक्ने संक्रामक तथा महामारी जन्य रोगहरूको व्यवस्थापनको पूर्व तयारी गर्न, आवश्यक जनशक्ति परिचालन गर्न तथा औषधी उपचारको व्यवस्था गर्न अनुरोध गरेको छ।