एसियाली विकास बैंकले चालु आर्थिक वर्षमा ४.९ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ।
सरकारले ६ प्रतिशत आर्थिक वृद्धिदर प्रक्षेपण गरेकोमा एडिबीले करिब ५ प्रतिशतसम्म पुग्ने अनुमान गरेको हो।
एडिबीका वरिष्ठ अर्थशास्त्री मानवीर खड्काले विशेषगरी समयमा भएको मनसुन र आयातमा आएको प्रभाव आर्थिक वृद्धिदरमा पर्ने बताए।
त्यस्तै, पर्यटन सेवामा सुधार, विद्युतको उत्पादन तथा खपत बढेको कारण पनि सहयोग पुग्ने अनुमान गरिएको छ।
भावी दिनमा अर्थतन्त्रमा देखिन सक्ने केही जोखिमहरू एडिबीले देखाएको छ।
विशेषगरी मध्यपूर्वमा बढ्दो भू–राजनीतिक तनाव, सार्वजनिक परियोजनाहरूको कार्यान्वयनमा ढिलाइ, राजनीतिक अस्थिरता नेपालको अर्थतन्त्रको जोखिमका रूपमा लिइएको छ।
यो वर्ष पनि मूल्य वृद्धिदर तोकिएको सीमाभित्र रहने प्रक्षेपण गरिएको छ।
चालु वर्षमा वार्षिक औसत ५.५ प्रतिशतको मूल्यवृद्धि हुने अनुमान एडिबीले गरेको छ। अझै ब्याजदर कम हुने क्रम जारी रहने जनाइएको छ।