उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बेइजिङमा चीनका उपप्रधानमन्त्री हि लिफेङसँग केरुङ–काठमाडौं रेल, टोखा–छहरे सुरुङ मार्ग, र अन्य प्रमुख पूर्वाधार परियोजनाहरूलाई प्राथमिकतामा राखेर तीव्र कार्यान्वयन गर्न आग्रह गरेका छन्।
चीनका उपप्रधानमन्त्री हि लिफेङले विगतमा गरिएका सहमति र घोषणा अनुरूप परियोजनाहरूलाई छिटो कार्यान्वयन गरिने प्रतिबद्धता जनाउँदै, आगामी दिनमा नेपाललाई थप सहयोग उपलब्ध गराउने आश्वासन दिएका छन्।
उपप्रधानमन्त्री पौडेलले चीनका विभिन्न सहरहरूबाट भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाइ सेवा विस्तारका लागि पनि चीन सरकारको सहयोगको माग गरेका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईका अनुसार नेपालको तर्फबाट गरिएका सबै अनुरोधप्रति चीन सरकारले सकारात्मक धारणा राखेको छ।
करिब एक घण्टा लामो भेटमा नेपालका तर्फबाट उपप्रधानमन्त्री पौडेल, चीनका लागि नेपालका कार्यबहाक राजदूत सुरेन्द्र यादव, अर्थ मन्त्रालयका प्रवक्ता भट्टराई, र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकारीहरू उपस्थित थिए।
चीनका तर्फबाट उपप्रधानमन्त्री हि लिफेङ, यातायात मन्त्री लि स्याओफङ, बेइजिङ महानगरका मु फङ, नेशनल रेलवे एडमिनिस्ट्रेसनका प्रमुख फे दोङ विङ, र नागरिक उड्डयन प्रमुख सोङ च्योङ लगायतका उच्च अधिकारीहरूको उपस्थिति थियो।