नेपालमा एसियाका विभिन्न १६ वटा देशका निक्षेप तथा कर्जा सुरक्षण गर्ने निकायहरू भेला हुने भएका छन्।
शुक्रबारदेखि राजधानीमा सुरू हुने एसियाली देशका सुरक्षण संस्थाहरूको सम्मेलन (एसिक कन्फरेन्स) मा ती देशका सरकारी निकायहरू सहभागी हुने भएका हुन्। ३६ औं एसिक सम्मेलन नेपालले ३० वर्षपछि गर्न लागेको हो।
शुक्रबार निक्षेप तथा कर्जा सुरक्षण कोषको ५१ औं वार्षिकोत्सव एवं एसिक सम्मेलनको एकैपटक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलन आगामी सोमबारसम्म सञ्चालन हुनेछ।
सम्मेलन अवधिभर विभिन्न देशका निक्षेप तथा कर्जा सुरक्षण निकायहरूको आ-आफ्नो देशको अनुभवसहित यस क्षेत्रका सामयिक विषयमा सरोकारवालाबीच गहन छलफल हुनेछ भनेर कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जानकारी दिए। यसपटक सम्मेलनमा नवप्रवर्तनको विषयलाई प्राथमिकतामा राखिएको उनले बताए।
'आफ्नो नयाँ सोचलाई समेत धितोमा राखेर कर्जा लिन सकिन्छ भन्ने सन्देश दिने कोषको प्रयास छ,' उनले भने।
सम्मेलनमा नेपालसहित भारत, मलेसिया, इन्डोनेसिया, दक्षिण कोरिया, जापानसहित १६ मुलुकका सुरक्षण संस्थाहरूको सहभागिता रहनेछ। सम्मेलनका छलफल सत्रलाई नेपालमा बहस गर्ने परम्परागत शैलीमा प्रदर्शन गर्ने कोषको तयारी छ।