नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको मनोबल पुनर्जीवित गर्न नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडिपिएल)को स्थापना महत्त्वपूर्ण कदम भएको बताएका छन्।
यो कम्पनीको स्थपनाले नयाँ लगानीको जोखिम र नाफालाई व्यवस्थापन गर्दै आर्थिक गतिविधि बढाउने उनले बताए।
ढकालले नेतृत्व गरेपछिको महासंघ डेढ वर्षे कार्यकालको समीक्षा गर्दै उनले महत्त्वपूर्ण कामको रूपमा एनडिपिएलको स्थापना भएको बताए।
यस कम्पनीको उद्देश्य निजी क्षेत्रको मनोबल बढाउनु रहेको उनले बताए।
'नेपालमा लगानीको वातावरण चुनौतीपूर्ण बनेको छ भने आर्थिक गतिविधिमा पनि अपेक्षित सुधार आएको छैन। सानो लगानीका माध्यम निक्कै न्यून छन्,' उनले भने 'त्यसैले, जोखिम र नाफा दुवैलाई व्यवस्थापन गर्ने उद्देश्यले यो कम्पनी दर्ता गरिएको हो।'
ढकालले नेपालका उद्यमी व्यवसायीहरू नीति नियम र सरकारी नियमनका कारण हिच्किचाइरहेका बेला नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले लगानीकर्तालाई नयाँ अवसर प्रदान गर्ने उल्लेख गरे।
'अहिले हाम्रो अर्थतन्त्र विशिष्ट अवस्थामा छ र बजारमा मागमा भएको कमीले जोखिम लिन लगानीकर्ता हिच्किचाइरहेका छन्,' उनले भने।
अध्यक्ष ढकालले महासंघको नेतृत्वमा विभिन्न आर्थिक सुधारका पहलहरू अगाडि बढिरहेको पनि जानकारी दिए।
महासंघले लगानीकर्तालाई प्रोत्साहित गर्दै आर्थिक सुधार र लगानीका लागि विभिन्न अन्तर्क्रिया र पहलहरू गर्दै आइरहेको उनको भनाइ छ।