उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो सरकार गठनपछि अर्थतन्त्रमा सुधारका संकेत देखिएकोले निराश नबन्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।
पछिल्लो सरकार गठनपछि निजी क्षेत्रलाई उत्साहित बनाउने गरी काम भइरहेको उल्लेख गर्दै सरकारप्रति आशा गरेर लगानी गर्न उनले आग्रह गरे।
‘राजस्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक इण्डिकेटरहरू सकारात्मक देखिएका छन्, नेपालमा गरेर केही हुँदैन भनेर होइन गरे के हुँदैन भनेर लगानी गर्न म उद्योगी व्यवसायीलाई आग्रह गर्छु,’ बुटवल उद्योग वाणिज्य संघको ७१ औं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री पौडेलले भने।
उनले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि लडेका संसदका दुई ठूला दल मिलेर बनेको बलियो सरकारले बाँकी कार्यकाल पूरा गर्ने र अस्थिरताको अन्त्य गर्ने बताए।
‘राजतन्त्र मात्र होइन राणा र पञ्चायत समेत फाल्न सँगै लडेका दुई वटा मुख्य दल र अन्य साना दल मिलेर बनेको सरकारले संसदको बाँकी अवधि पूरा गर्छ, बर्सेनि सरकार फेरिने अस्थिरतालाई अन्त्य गर्छ,’ उनले भने।
अर्थमन्त्री पौडेलले अहिलेको सरकार स्थिरता, विकास, सुशासन, समृद्धिको अभिभारा सहित बनेकोले आशातीत भएर लगानी गर्न आग्रह गरे।
उनले बुटवल पूर्वपश्चिम र उत्तर दक्षिणको समेत केन्द्र भएकाले यहाँ लगानीको राम्रो सम्भावना रहेको दाबी गरे।
‘तत्कालै केही भएन भनेर बुटवल र रूपन्देहीले मन साँघुरो बनाउन पर्दैन, सरकारी र निजी क्षेत्रबाट यहाँ निर्माण भइरहेका आयोजना पूरा हुँदा रूपन्देही मुलुककै नमूना जिल्ला बन्ने छ,’ अर्थमन्त्री पौडेलले भने।
पौडेलले राष्ट्रिय अभिभारा पूरा गर्न र आफू निर्वाचित भएको क्षेत्रको विकास र समृद्धिका लागि समेत आफू प्रतिवद्ध रहेको बताउँदै निर्माणाधीन बुटवल-नारायणगढ सडक छिटो पूरा हुने विश्वास व्यक्त गरे।
सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकको सिद्धबाबामा निर्माण हुँदै गरेको सुरूङमार्गको ब्रेक थ्रु गर्ने र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा रूपन्देहीको बेग्लै रौनक हुने उनले बताए।
अर्थमन्त्री पौडेलले मोतीपुर औद्योगिक क्षेत्रमा भएको जग्गाको समस्यालाई समाधान गर्ने गरी पहिलो चरणमा बस्ती नभएको क्षेत्रबाट औद्योगिक क्षेत्रका लागि संरचना निर्माण गर्ने र उद्योग स्थापनाका लागि दिँदै जाने सरकारको योजना रहेको बताए।
उनले मोतीपुर औद्योगिक क्षेत्र स्थापनामा केही ढिलाइ भए पनि यसलाई जसरी पनि बनाएरै छाड्ने स्पष्ट पारे।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीतिगत स्थायित्व दिन नसक्दा लगानीकर्ताको मनोबल बढ्न नसकेको गुनासो गरे। अध्यक्ष ढकालले लगानी गर्दा व्यवसायीले बेहोर्नुपर्ने कानूनी अप्ठ्यारा र झन्झट फुकाउन सरकारलाई आग्रह गरे।
‘उद्योग व्यवसाय क्षेत्रमा नीतिगत स्थायित्व भएन भने व्यवसायीको कन्फिडेन्ट विल्डप गर्न सकिँदैन, अहिले नीतिगत अस्थिरता छ, म अर्थमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, लगानीकर्तालाई कन्फिडेन्स विल्डप गराउनु होला,’ ढकालले भने।
सरकार र नीजि क्षेत्रको सहकार्यमा भएका लगानी सम्मेलनपछि लगानी डिस्करेज गरेका आठ वटा कानुन सुधार भएको बताउँदै ढकालले लगानीलाई निरुत्साहित गरेका अझै धेरै कानुन सुधार गर्न आवश्यक रहेको बताए।
पछिल्लो समयमा नेपालमा लगानीको सम्भावना छ भनेर सन्देश दिनुपर्नेमा त्यसको उल्टो भाष्य बनेको भन्दै नेपालमा लगानीको सम्भावना छ भनेर सन्देश दिन ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड कम्पनी’ सञ्चालन गरिएको जानकारी दिए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरी अर्याल, पूर्व अध्यक्ष ज्ञानेन्द्र कसजु, रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा लगायतले पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछि व्यवसायीमा केही आशा जागेको भन्दै त्यो आशालाई जोगाइराख्न आग्रह गरे।