नेपाल पूर्वाधार सम्मेलन २०२४ मा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समृद्धिका लागि गुणस्तरीय र हरित पूर्वाधार विकास आवश्यक रहेको बताएका छन्।
उनले पूर्वाधार विकासमा भूपरिवेष्ठित अवस्थिति र जटिल भू–बनावटलाई मुख्य चुनौतीका रूपमा औंल्याए।
पौडेलले पूर्वाधार विकासमा सरकारको प्रयास मात्र पर्याप्त नभएको भन्दै निजी क्षेत्रको सहयोग अपरिहार्य रहेको बताए।
'हामीले निजी क्षेत्रसँग सहकार्य गरेर पूर्वाधार विकासलाई अघि बढाउन नीतिगत सुधार गरिरहेका छौं,' उनले भने।
अर्थमन्त्री पौडेलले आन्तरिक स्रोत दबाबमा रहेको र सार्वजनिक ऋण बढ्दै गएकाले पूर्वाधार विकासको लागि स्रोत जुटाउन चुनौतीपूर्ण भएको बताए।
उनले निजी क्षेत्रको लगानी आकर्षित गर्न सार्वजनिक निजी साझेदारीको उपयोगमा जोड दिँदै यसका लागि अनुकूल वातावरण सिर्जना गरिएको बताए।
ठूला पूर्वाधार परियोजनामा दीर्घकालीन पुँजी परिचालन गर्न सरकारको अग्रसरतामा पूर्वाधार विकास बैंक स्थापना गरिएको उनले जानकारी दिए।
'पूर्वाधार आयोजना दिगो र गुणस्तरीय हुन जरुरी छ,' पौडेलले भने।
पौडेलले संघीय, प्रदेश, र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै भने, 'एकीकृत पूर्वाधार विकासको लागि सबै तहका सरकारबीच सहकार्य हुनुपर्छ।'
उनले मौद्रिक नीतिले पूर्वाधार क्षेत्रमा लगानी विस्तारमा सहयोग पुर्याउने अपेक्षा राख्दै सम्मेलनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न महत्त्वपूर्ण योगदान दिने बताए।