तत्कालका लागि अनलाइनबाट कम्पनी दर्ता सेवा बन्द गरिएको छ।
कम्पनी रजिस्टारको कार्यालयले एक सूचना जारी गर्दै यस्तो सेवा बन्द गरिएको जानकारी गराएको हो।
सर्वोच्च अदालतले अनलाइन दर्ता प्रणालीको सफ्टवेयरको विषयमा दिएको अल्पकालीन अन्तरिम आदेशका कारण अहिलेलाई सेवा बन्द गरिएको कार्यालयले जनाएको छ।
रजिष्टारको कार्यालयले कम्पनी दर्तालाई अनलाइन प्रक्रिया लैजाने गरी नयाँ सफ्टवेयर कार्यान्वयनमा ल्याउन लागेपछि यसकाविरुद्ध अदालतमा मुद्दा परेको थियो।
सर्वोच्च अदालतले असार १९, साउन १७, भदौ ९ र भदौ १६ गते कार्यालयले गरेका निर्णयअनुसारका सबै काम कारबाहीमाथि रोक लगाएको कारण सेवा बन्द गरिएको जनाएको छ।
अदालतले ती निर्णय र सूचनाहरू कार्यान्वयन नगर्न/नगराउन भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि अनलाइन सेवाका सबै काम रोकिएको कार्यालयले जनाइएको छ।
यो सेवा कहिले सुरू गर्ने नयाँ सफ्टवेयर प्रयोग गर्ने वा नगर्ने भन्ने विषय आदेश टुंगो लागेपछि मात्रै थाहा हुने कार्यालयले जनाएको छ।