अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा आफ्नो लगानी विस्तार गर्ने भएको छ।
मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भएको भेटमा आइएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आइएफसीले नेपालमा लगानी बढाउने जानकारी दिएका हुन्।
आइएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो। फाखौरीले हरित ऊर्जा, रोजगारी सिर्जना र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा रहेको भन्दै नेपालमा लगानी विस्तार गर्न आफू र आफ्नो टिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानीको खाँचो रहेको औंल्याउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यानमा राखेर लगानी विस्तार गर्न आग्रह गरे।